इटहरी । अभिनेत्री तथा टिभी होस्ट लुनिभा तुलाधर आफ्नो अभिव्यक्तिका कारण विवादमा तानिएकी छन् । ‘भूतपूर्व पवनकली’ का रूपमा परिचित लुनिभालाई कैयौँले सामाजिक सञ्जालमा ट्रोल पनि गरिरहेका छन् ।
केही दिनअघि उनी अभिनीत चलचित्र हर्षको प्रिमियर राखिएको थियो । त्यहाँ सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा उनले महिलाले भोग्नु परेका यौन दुर्व्यवहारबारे खुलेर बोलेकी थिइन् । बोल्दै जाँदा उनले ‘कतिपय देशमा बुवाआमाले आफ्ना बच्चाहरूको ब्यागमा टिफिनको साटो कण्डम हालिदिने गरेको’ दाबी गर्दै त्यस्तो वातावरण बनाउनुपर्ने बताइन् । उनको यो अभिव्यक्तिलाई धेरैले अतिरञ्जित मानेका छन् ।
के भनेकी थिइन् लुनिभाले ? उनकै शब्दमाः
हामी महिलाहरू हाम्रो यौन इच्छाको बारेमा कुरै गर्दैनौँ । पुरुषहरू कम्तीमा चिया गफमा त खुलेर कुरा गर्छन् नि । हामी महिलाले गर्न पाउँदैनौँ । हामीले ब्याकग्राउन्डमा कति भोग्नु परेको हुन्छ ।
मैले एउटा अन्तरवार्तामा आफूलाई अनलाइन, इन्स्टामा अब्यूज भएर रिपोर्ट गर्नुपरेको कुरा गरेकी थिएँ । को परेको हुँदैन ? तपाईँलाई सोध्छु (पुरुष पत्रकारलाई), बसमा चढेको बेला तपाईँलाई कसैले छातीमा वा चा.. मा चिमोटेको छ ? छैन । तपाईँ कति भाग्यमानी । तर हामी महिलालाई परेकै हुन्छ । हामी सयमा ९९ महिलालाई परेको हुन्छ । तर हामी भन्दैनौँ, किनभने सहने बानी सिकाइएको छ नि त हामीलाई ।
यो कुरा खुलेर गर्न थाल्यौं भने सबै चिज सहज हुँदै जान्छ । आज भ्यूज बढ्ला, न्युज बन्ला, पछि सबै नर्मल कम्युनिकेसन हुन्छ ।
कतिवटा विदेशी देशमा अहिले पनि बच्चाहरूलाई टिफीन हाल्नुको साटो बुबाआमाले सेफ होस भनेर ब्यागमा कन्डम हालेर पठाउनुहुन्छ नि त । त्यो वातावरण बनाउने हो । मैले अश्लिल वा छाडा बोलेको होइन, सत्य बोलेको । इट्स बायोलोजी । शरीरको कुरा हो । सोच्नेले कसरी सोच्ने त्यो उहाँहरुको विचार हो ।


















