विराटचोकः मोरङको सुन्दरहरैँचा नगरपालिकाले नगरभित्रका ८ वटा माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई नियुक्तिपत्र प्रदान गरेको छ ।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधन) बमोजिमको प्रक्रिया पूरा गरी पहिलो चरणमा छनोट भएका ८ विद्यालयका प्रधानाध्यापकलाई नगरपालिकाले नियुक्तिपत्र प्रदान गरेको हो ।

नगरपालिकाका शिक्षा शाखा प्रमुख तेजप्रसाद आचार्यका अनुसार बाँकी रहेका दुईवटा माध्यमिक विद्यालयका प्रधानाध्यापक पदका लागि समेत विज्ञापन गरिसकिएको छ ।
आधारभूत तहका विद्यालयका प्रधानाध्यापक नियुक्तिका लागि पनि विज्ञापन आह्वान गरिएको उहाँले बताउनुभयो ।

छनोट भएका प्रधानाध्यापकहरूलाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुकुमारी भट्टराई फुयालले नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।