विराटनगर । चलचित्र पत्रकार संघ नेपाल (कोशी प्रदेश) को तेस्रो अधिवेशन सम्पन्न भएको छ। चैत्र ९ गते विराटनगरस्थित मुनालपथको रुबिज होटलमा आयोजित अधिवेशनमा चलचित्र क्षेत्रसँग सम्बन्धित पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

चलचित्र पत्रकार संघ कोशी प्रदेशको आयोजनामा सम्पन्न अधिवेशनले चलचित्र पत्रकारिताको विकास, पत्रकारहरूको पेशागत क्षमता अभिवृद्धि तथा चलचित्र उद्योगसँग सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरेको जनाएको छ।IMG-20260323-WA0013

उद्घाटन सत्र तत्कालीन अध्यक्ष सञ्जु राईको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले नेपाली चलचित्र क्षेत्रको विकासमा चलचित्र पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले पत्रकारिताले चलचित्र उद्योगका समस्या, चुनौती र सम्भावनालाई उजागर गर्दै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुर्‍याउने उल्लेख गरे। साथै, निष्पक्ष र जिम्मेवार पत्रकारितामार्फत चलचित्र क्षेत्रलाई सही दिशामा अघि बढाउन सकिने धारणा व्यक्त गरे।

मेयर कोइरालाले स्थानीय तह र चलचित्र क्षेत्रबीच सहकार्य आवश्यक रहेको औंल्याउँदै विराटनगर महानगरपालिका सांस्कृतिक तथा चलचित्रसम्बन्धी गतिविधिमा सहकार्य गर्न सधैं तयार रहेको प्रतिबद्धता जनाए। उनले यस्ता कार्यक्रमले कला, संस्कृति तथा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा चलचित्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष समिर बलामीले चलचित्र पत्रकारिता उद्योगको अभिन्न अंग भएको उल्लेख गर्दै जिम्मेवार पत्रकारितामार्फत चलचित्र क्षेत्रलाई सुदृढ बनाउन सकिने बताए। त्यसैगरी नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष भरत खड्का, संस्थापक अध्यक्ष विक्रम लुइँटेल, प्रेस युनियन कोशी प्रदेशका अध्यक्ष तथा चलचित्र संघका सल्लाहकार मीनकुमार नवोदित श्रेष्ठ, सल्लाहकार भीषण राई तथा पारस मल्टिपल हस्पिटलका प्रशासन प्रमुख हेमनारायण मेहताले शुभकामना मन्तव्य दिएका थिए।IMG-20260323-WA0029

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै १४ सदस्यीय कार्यसमिति गठन गरेको छ। जसअनुसार वीरेन्द्रकुमार साह अध्यक्षमा निर्वाचित भएका छन्। उपाध्यक्षमा रमेश तिवारी र गोमा ढुङ्गाना, महासचिवमा विकल श्रेष्ठ, सचिवमा तुलसीप्रसाद निरौला तथा कोषाध्यक्षमा गोपाल काफ्ले चयन भएका छन्। सदस्यहरूमा स्नेहा श्रेष्ठ, रेखा पौडेल, पारस मण्डल, सुनिल यादव, कविता घिमिरे, निशान्त कँडेल र गोपाल पौडेल निर्वाचित भएका छन् भने एक सदस्य पछि मनोनित गरिने जनाइएको छ।

नवनिर्वाचित अध्यक्ष साहले संघलाई थप सक्रिय, व्यवस्थित र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गर्दै पत्रकारहरूबीच एकता सुदृढ गरी प्रदेशको चलचित्र क्षेत्रको विकासमा योगदान पुर्‍याउने बताए।

अधिवेशनले चलचित्र पत्रकारहरूको पेशागत हित संरक्षण, पत्रकारिताको गुणस्तर अभिवृद्धि तथा नेपाली चलचित्र उद्योगको प्रवर्द्धनमा केन्द्रित रहने नीति तय गरेको जनाएको छ।