काठमाडौं । साविक विजेता लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणको फाइनलमा प्रवेश गरेको छ । मंगलबार पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुदूर पश्चिमले दिएको १०६ रनको सामान्य लक्ष्य लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । 

लुम्बिनीको जीतमा श्रीलंकाली ब्याटर निरोशन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे । उनले ३७ बलमा ७ चौका र २ छक्कासहित अविजित ५९ रन बनाए । 

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले पहिलो ओभरमै डार्सी सर्टलाई गुमाएको थियो । स्कट कुगेलेइनको बलमा सर्ट खाता नखोली आउट भए ।

आशिफ शेखले पनि लामो समय क्रिजमा टिक्न सकेनन् । उनी ८ बलमा ४ रन बनाएर तेस्रो ओभरमा हेमन्त धामीको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भए । लुम्बिनीले ३.२ ओभरमा २४ रन जोड्दा दुई विकेट गुमाएको थियो ।

त्यसपछि डिक्वेला र कप्तान रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । रोहितले २८ बलमा २१ रन बनाए । उनी १० औँ ओभरमा थारिन्दु रत्नायकेको बलमा अनिल खरेलबाट क्याच आउट भए ।

सन्दीप जोरा र डिक्वेलाले चौथो विकेटका लागि २३ रन जोडे । जोरा १३ बलमा ८ रन बनाएर १४ औँ ओभरमा आउट भए । उनलाई पनि रत्नायकेले नै आउट गरेका थिए ।

त्यसपछि डिक्वेला र दिलीप नाथले अविजित २३ रनको साझेदारी गर्दै टोलीलाई जीत दिलाए । नाथले १२ बलमा १० रन बनाए । डिक्वेलाले ३२ बलमा अर्धशतक पूरा गरेका थिए ।

खेलमा सुदूरपश्चिमका अभिनास बोहारले दुई वटा महत्वपूर्ण क्याच मिस गरेका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५२ रन बनाए । उनले ५१ बलमा ३ चौका र १ छक्का प्रहार गरे । इशान पाण्डेले ३३ बलमा २७ रन जोडे ।

सुरुवातमै धर्मराएको सुदूर पश्चिमले पहिलो ओभरको पहिलो बलमै जर्ज मुन्सेलाई गुमाएको थियो । रुबेन ट्रम्पलम्यानको बलमा मुन्से खाता नखोली आउट भए । त्यसपछि विनोद भण्डारी ३ र थानुका दबारे ३ रनमा पेभेलियन फर्किए।

सुदूर पश्चिमले ३.१ ओभरमा ८ रन जोड्दा तीन विकेट गुमाइसकेको थियो । त्यसपछि दीपेन्द्र र इशानले चौथो विकेटका लागि ५६ बलमा ६४ रनको महत्वपूर्ण साझेदारी गरे । यही साझेदारीले सुदूर पश्चिमलाई सय रनको आँकडा पार गराएको थियो ।

इशान २७ रन बनाएर १५ औँ ओभरमा रनआउट भए । त्यसपछि थारिन्दु रत्नायके १ र आरिफ शेख ४ रनमा आउट भए । आरिफको विकेट खस्दा सुदूर पश्चिमको स्कोर १७.५ ओभरमा ९४ रन थियो ।

दीपेन्द्रले एक छेउबाट इनिङ्स सम्हाल्दै ४५ बलमा अर्धशतक पूरा गरे । तर, २० औँ ओभरको दोस्रो बलमा उनी शेर मल्लको बलमा डार्सी सर्टबाट क्याच आउट भए । दीपेन्द्रको विकेट १०१ रनमा खसेको थियो । अन्तिम बलमा स्कट कुगेलेइन पनि रनआउट भए । उनले ५ बलमा ७ रन बनाए। अनिल खरेल २ रनमा अविजित रहे ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले समान २ विकेट लिए । ट्रम्पलम्यानले ४ ओभरमा १४ रन खर्चिए भने मल्लले ४ ओभरमा २७ रन दिए । अभिशेष गौतम र किशोर महतोले समान १ विकेट हात पारे ।

लुम्बिनीले अब उपाधिका लागि फाइनल खेल्नेछ । सुदूर पश्चिमसँग भने फाइनल पुग्ने अवसर बाँकी छ । 

सुदूरपश्चिमले बिहीबार दोस्रो क्वालिफायर खेल्नेछ । त्यसअघि बुधबार एलिमिनेटरमा काठमाडौं गोर्खाज र चितवन राइनोज भिड्नेछन् । सो खेलको विजेताले फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायरमा सुदूर पश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

सुदूर पश्चिम साबिक उपविजेता टिम हो ।