धरानः त्रिभुवन आर्मी फुटबल क्लबले बागमती युथ क्लबमाथि ९–० को शानदार जीत निकाल्दै रात्रिकालीन प्रथम धरान अन्तर्राष्ट्रिय आमन्त्रण महिला गोल्डकपको सेमिफाइनल यात्रा तय गरेको छ ।
धरान रङ्गशालामा सोमबार राति भएको तेस्रो क्वाटरफाइनलमा आर्मीका लागि दीपा शाहीले चार तथा जेनिफर रानाले तीन गोल गरिन् । विमला चौधरी र तुलसा बोहराले पनि एक–एक गोल थपे ।
खेलको सुरुवातदेखि नै आक्रामक बनेको आर्मीले पहिलो हाफमै सात गोलको अग्रता बनाएको थियो । खेलको पहिलो र पाँचौँ मिनेटमा लगातार गोल गर्दै दीपाले आर्मीलाई सुरुआती अग्रता दिलाइन् । १६ औँ मिनेटमा विमला चौधरीले गोल थप्दा १९ औँ मिनेटमा जेनिफर रानाले गोल गरिन् ।
२३ औँ मिनेटमा दीपाले तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । जेनिफरले ३२ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन् भने ३७ औँ मिनेटमा दीपाले चौथो गोल गरेपछि पहिलो हाफमा आर्मी ७–० ले अघि रहेको थियो ।
दोस्रो हाफको १९ औँ मिनेटमा गोल गर्दै जेनिफरले ह्याट्रिक पूरा गरिन् । ३६ औँ मिनेटमा तुलसा बोहराले गोल थपेपछि आर्मीले ९–० को जीत दर्ता गरेको हो ।
प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।


















