काठमाडौं । २२ करोड रुपैयाँ बराबरको सेतो हेरोइनसहित एक व्यक्ति पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ५२ वर्षीय रेवाज तिघरी नाम गरेका व्यक्ति रहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।
२८ कात्तिकमा थाइल्याण्डबाट काठमाडौं आएका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका हुन् । उनी यसअघि लाओसबाट २ पटक नेपाल आएको पाइएको छ ।
पहिलो पटक हवाईमार्गबाट नेपाल आएका उनी दोस्रो पटक भारतबाट स्थलमार्ग हुँदै नेपाल आएको प्रहरीले जनाएको छ ।
उनले लाओससँगै जिम्बाबे, सुडान, बंगलादेश, भियतनाम, कम्बोडियाको समेत भ्रमण गरिसकेका छन् । उनी लागूऔषध कारोबारीको अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्ति रहेको प्रहरीले बताएको छ ।
उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्र समेत बरामद भएको छ । उनीबाट बरामद भएको सेतो हेराइन साढे पाँच किलो ५ ग्रामको बजार मूल्य २२ करोड नेपाली रुपैयाँ रहेको प्रहरीले बताएको छ ।


















