काठमाडौंः नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदका लागि मोरङका कांग्रेस नेता सुनिलकुमार शर्माले उम्मेद्वारी दर्ता गराएका छन् ।
आज राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर खुला समूहबाट महामन्त्री पदमा उनले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
उम्मेद्वारी दर्तापछि प्रतिक्रिया दिँदै शर्माले आफ्नो उम्मेद्वारी कुनै पद प्राप्तिको आकांक्षा नभई कांग्रेसलाई जनमुखी, सेवामुखी, आधुनिक र परिणाममुखी बनाउने संकल्प रहेको बताएका छन् ।
‘बी.पी. कोइरालाको विचार, लोकतान्त्रिक मूल्य र जनसेवाको भावनालाई केन्द्रमा राखेर पार्टी र जनताबीचको सम्बन्ध अझ बलियो बनाउने मेरो प्रतिबद्धता छ’, उम्मेद्वारी दर्तापछि सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै शर्माले भनेका छन्, ‘यहाँसम्म आइपुग्न दिनुभएको विश्वास, माया र साथप्रति सम्पूर्ण नेता, कार्यकर्ता, महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूमा हार्दिक आभार व्यक्त गर्दछु । अब यो यात्रालाई तपाईंहरूको विश्वासले अझ अर्थपूर्ण बनाउनेछ ।’


















