धनकुटाः गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी कात्तिक १० गते एघारौँ वार्षिक साधारणसभा आयोजना गर्ने भएको छ ।
संस्थाको सञ्चालक समितिको १६९औँ बैठकले गरेको निर्णयअनुसार वार्षिक साधारणसभा धनकुटामा बस्नेछ । साधारणसभामा आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण तथा लेखापरीक्षक नियुक्तिलगायतका विषयमा छलफल तथा निर्णय हुनेछ ।
सो सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२\८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने प्रस्ताव छ । त्यस्तै, २०८३ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८२\८३ को नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित लेखा टिप्पणीसहितको वित्तीय विवरण पारित गर्ने प्रस्ताव पनि छ ।
कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८३\८४ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि साधारणसभामा पेस हुनेछ ।
त्यस्तै, सञ्चालक समितिको सिफारिसअनुसार आर्थिक वर्ष २०८२\८३ को वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजीको ०.५ प्रतिशतले हुने ६ लाख ६१ हजार ७९० रुपैयाँ २७ पैसा नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पनि सभामा पेस गरिनेछ ।
आर्थिक वर्ष २०८२\८३ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजी १३ करोड २३ लाख ५८ हजार ५३ रुपैयाँ ७५ पैसाको ९.५ प्रतिशतले हुने १ करोड २५ लाख ७४ हजार १५ रुपैयाँ ११ पैसा बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा पेश गर्नेछ ।
सञ्चालकहरूको दैनिक तथा भ्रमण भत्ता वृद्धि गर्न संस्थाको नियमावलीको नियम संशोधन गर्ने तथा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन आएमा प्रचलित कानुनको अधीनमा रही संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन, परिमार्जन वा समायोजन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि निर्णयार्थ साधारणसभामा प्रस्तुत हुने भएको छ ।


















