कोहलपुर । बाँकेको कोहलपुरस्थित थापा मेडिकलमा शनिबार स्वास्थ्यकर्मीलाई महिलाले झापड हानेको भिडियो खिचेर सामाजिक सञ्जालमा हालेका युट्युबर पक्राउ परेका छन् ।
सहारा एचडी टिभी नामक च्यानल सञ्चालन गर्ने हिमांशु शाहीलाई प्रहरीले पक्राउ गरेको हो । स्वास्थ्य जाँच गर्न आएकी युवतीमाथि दुव्र्यवहार गरेको भन्दै स्वास्थ्यकर्मीमाथि एक महिलाले हातपात गरेको भिडियो शाहीको च्यानलबाट प्रशारण भएको थियो । सो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ ।
सामाजिक सञ्जालकर्ताहरूले योजनाबद्ध तरिकाले भिडियो खिचेर हालिएको भन्दै शाहीलाई कारबाही गर्नुपर्ने माग गरेका थिए । नेपाल पत्रकार महासंघ बाँकेले विज्ञप्ति निकालेर पत्रकारिता आचारसंहिताबाहिर गएर यस्तो काम गर्ने पत्रकार नभएको भन्दै सबैलाई सचेत गराएको थियो । शाहीले यसअघि पनि यस्ता विवादित भिडियो खिचेर सार्वजनिक गर्ने गरेका थिए । उनी पत्रकार महासंघका सदस्य छैनन् ।
गत शनिबार उक्त मेडिकलमा स्वास्थ्य परीक्षण गराई फर्केको केही मिनेटमा नै युट्युबरसहित पुगेको समूहले मेडिकल सञ्चालकमाथि कुटपिट गरेको थियो । सोही दृश्यको भिडियो शाहीले तत्काल सामाजिक सञ्जालमा पोष्ट गरेका थिए ।
सो घटनालाई लिएर औषधी व्यवसायी परिषद र सिएमए संघले पनि छानबिन अघि बढाएको जनाएको छ । प्रहरीले भने सो घटनामा स्वास्थ्यकर्मी थापाविरुद्ध करणीसम्बन्धी कसुरमा ७ दिन म्याद लिएर अनुसन्धान गरिरहेको छ ।


















