रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-१० मा भारी वर्षापछि अर्माखोलामा आएको बाढीले ठूलो क्षति पुर्‍याएको छ ।

वडाध्यक्ष टिकाराम खड्काका अनुसार बाढीले एउटा घर, दुई वटा किराना पसल, एउटा गोठ र १० वटा पानी घट्ट बगाएको छ ।

राति साढे ८ बजेतिर परेको भारी वर्षापछि आएको बाढीले उज्वन खड्काको घर बगाएको छ । ठूलो बाढी आएको थाहा पाएपछि खड्काका परिवार घर छाडेर सुरक्षित स्थान गएर बसेका थिए ।

बाढीले खड्काको घर बगाउँदा एक तोला सुनका गरगहना, १० हजार नगद, भाँडावर्तन, अन्नपात, एउटा भैंसी र १० वटा भेंडाबाख्रा बगाएको अध्यक्ष खड्काले बताए ।

बाढीले स्थानीय खड्कबहादुर खडका र बमबहादुर विकको किराना पसल, गंगाराम खड्काको गोठ सहित तीन वटा भैंसी र पञ्चराम डाँगीको दुई वटा गोरु बगाएको छ ।