विराटचोकः ‘नझरेका फूलहरू’ले मङ्सिर महिनाभर विभिन्न साहित्यिक तथा साङ्गीतिक कार्यक्रम आयोजना गरी स्वरसम्राट् नारायणगोपालको स्मरण गरिरहेको छ ।
हरेक शनिबार बिहान साङ्गीतिक तथा साहित्यिक कार्यक्रम गर्ने क्रममा हिजो दोस्रो शनिबार आयोजित कार्यक्रममा धनकुटा निवासी कवि तथा प्राज्ञ रोशन परियारले आधा दर्जन कविता वाचन गर्नुभएको थियो । उहाँले आफ्ना चर्चित र सर्वाधिक रुचाइएका कविताहरू वाचन गर्नुभएको थियो ।
सो अवसरमा प्राज्ञ परियारलाई बधाईपत्रसमेत प्रदान गरिएको थियो ।
बधाईपत्रमा सुन्दरहरैँचा कला साहित्य विकास समितिका अध्यक्ष डा. दीपकप्रसाद नेउपाने, विराट साहित्य समाजका अध्यक्ष विदुर सुवेदी, स्रष्टा समाज बेलबारीका अध्यक्ष जेबी थुलुङ, बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौला, भानु साझा पुस्तकालयका अध्यक्ष पुरनकुमार राई, केराबारी साहित्य तथा कला विकास केन्द्रका अध्यक्ष नवीन थापा क्षत्री, राइडर्स महफिलका अध्यक्ष यादव भट्टराई र ‘नझरेका फूलहरू’का प्रस्तोता केपी घिमिरेले हस्ताक्षर गर्नुभएको थियो ।
कार्यक्रममा लोकप्रिय गायक सञ्जीव धिमालले ‘तिमीलाई म के भनूँ.....’ र ‘मलाई नसोध कहाँ दुख्छ घाउ.....’ बोलका गीत प्रस्तुत गर्नुभएको थियो । युवा गायक हिमाल दर्नालले ‘कसरी म भुलेँ केमा म भुलेँ.....’ र ‘लौ सुन म भन्छु मेरो रामकहानी....’ गीत प्रस्तुत गर्नुभयो ।
झापाको बिर्तामोडनिवासी कवयित्री रेखा दासले आफ्ना तीन कविता वाचन गर्नुभएको थियो ।
स्वरसम्राट् नारायणगोपालको स्मृति दिवस मङ्सिर १९ गते पर्ने भए पनि उहाँको योगदानको स्मरण गर्दै यस वर्ष महिनाभर कार्यक्रम आयोजना गरिएको ‘नझरेका फूलहरू’का संस्थापक केपी घिमिरेले बताउनुभयो ।
साहित्यकार पुरन याक्खाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा युवा व्यवसायी तथा समाजसेवी उत्सव थापाले स्वागत मन्तव्य राख्नुभएको थियो ।
अघिल्लो शनिबार धनकुटाका कवि मुकुन्द प्रयासले आफ्ना कविताहरू वाचन गर्नुभएको थियो ।
आगामी शनिबार धरानका गायक कृष्णराजा श्रेष्ठ र गायिका मेरी शाक्यले साङ्गीतिक प्रस्तुति दिने आयोजकले जनाएको छ ।


















