विराटनगरः विराट एग्रो लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी अघि बढाएको छ ।

आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता विराट एग्रो लिमिटेड र एनआईसी एसिया क्यापिटल लिमिटेडबीच सम्पन्न भएको छ ।

सम्झौताअनुसार एनआईसी एसिया क्यापिटलले विराट एग्रोलाई संस्थागत परामर्श सेवासहित सर्वसाधारणमा शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेछ ।

एनआईसी एसिया क्यापिटलले आफ्नो ‘आइडिया टु आईपीओ’ सेवाअन्तर्गत कम्पनी स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म आवश्यक पर्ने सम्पूर्ण संस्थागत परामर्श सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

मोरङ र सुनसरीमा १०० हेक्टरभन्दा बढी जलाशय क्षेत्रफलमा करिब १५० वटा पोखरीमार्फत् व्यावसायिक एकीकृत कृषि तथा मत्स्यपालन गर्दै आएको विराट एग्रोले इटहरी–१३ खनार औद्योगिक क्षेत्रमा दैनिक २५ टन उत्पादन क्षमताको आधुनिक फिस फिड प्लान्टमार्फत् विभिन्न प्रकारका तैरिने र डुब्ने माछाका दाना उत्पादन तथा बिक्री–वितरण गर्दै आएको छ ।

कम्पनीले कृषि तथा मत्स्यपालन क्षेत्रको सम्पूर्ण मूल्य शृंखलालाई एकीकृत गर्दै उत्पादन, प्रशोधन, प्याकेजिङ तथा बजारीकरणलाई थप व्यवस्थित र व्यावसायिक बनाउने दीर्घकालीन योजना अघि बढाएको जनाएको छ ।

प्रस्तावित सार्वजनिक शेयर निष्कासनबाट प्राप्त पुँजी उत्पादन क्षमता विस्तार, आधुनिक प्रशोधन प्रविधि तथा व्यावसायिक पूर्वाधार विकासमा परिचालन गरिने कम्पनीले जनाएको छ ।