पथरीः तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरीशनिश्चरे गोल्डकपअन्तर्गत सोमबार भएको खेलमा झापा–११ ले ललितपुरको थ्री स्टार क्लबलाई टाइब्रेकरमा पराजित गर्दै सेमीफाइनलमा स्थान सुरक्षित गरेको छ ।
निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरबाट खेलको निर्णय गरिएको थियो । टाइब्रेकरमा झापा–११ ले ४–३ गोल अन्तरले थ्री स्टारलाई हराएको हो ।
खेलको ३२ औँ मिनेटमा प्रताप चाम्लिङ राईले गोल गर्दै झापा–११ लाई सुरुआती अग्रता दिलाएका थिए । ५७ औँ मिनेटमा मिलन चाम्लिङ राईले थ्री स्टारका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा लगेका थिए । त्यसको ६ मिनेटपछि क्रिसल थापाले गोल गरेपछि थ्री स्टारले २–१ को अग्रता बनाएको थियो ।
झापा–११ ले खेलको ७६ औँ मिनेटमा रोमन भुजेलको गोलमार्फत् खेललाई २–२ को बराबरीमा ल्याएको थियो । त्यसपछि निर्धारित समयमा थप गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा झापा–११ का रोमन भुजेल, प्रशान्त लक्सम, प्रदीप बुढाथोकी र निखिल तामाङले गोल गरे । थ्री स्टारका सागर तिवारी, दोर्जे तामाङ र दिवस उराउले गोल गरे पनि सुजन चौधरी र लेकन राईको प्रहार झापा–११ का गोलकिपर योगेश धिमालले रोके ।
निर्णायक दुई प्रहार बचाउँदै टोलीलाई जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका झापा–११ का गोलकिपर योगेश धिमाल खेलको म्यान अफ द म्याच घोषित भए ।
झापा–११ ले फाइनल प्रवेशका लागि बुधबार भारतको युकेएफसीसँग प्रतिस्पर्धा गर्नेछ ।
आज नेपाल पुलिस क्लब र रेडहर्स इलामबीच प्रतिस्पर्धा हुनेछ ।


















