काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत आज बन्दसत्र शुरु हुँदैछ । खुलामञ्चमै हुने बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका प्रतिवेदन पेश हुने भएका छन् ।
बन्दसत्रमा करिब ७ हजार ५०० प्रतिनिधि सहभागी हुँदैछन् । सहभागीहरुलाई भूगोलका आधारमा तीन समूह (हिमाल, पहाड र तराई–मधेश) मा विभाजन गरी प्रतिवेदनमाथिको छलफलमा सहभागी गराउने कार्यक्रम छ ।
आजैबाट केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन कार्यक्रम पनि शुरु हुने भएको छ ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार आज साँझ ५ बजेदेखि निर्वाचनको कार्यक्रम शुरु हुने छ ।
आज ५ बजे मतदाता नामावली प्रकाशन हुने छ । ५ बजेदेखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोधको समय तोकिएको छ । आज बेलुका ८ः३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ ।
भोलि असोज २० गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन हुने छ ।
अपराह्न ४ः३० बजे अन्तिम नामावली प्रकाशन, अपराह्न ४ः३० देखि साँझ ५ः३० बजेसम्म उम्मेद्वारी दरखास्तमा दाबीविरोध तथा बेलुका ७ बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ ।
पर्सि असोज २१ गते बिहान ९ बजेसम्म उम्मेद्वारको नामावली फिर्ता लिने र बिहान १० बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने तालिका छ । असोज २१ गते दिनभर प्रचारप्रसार गर्न पाइने छ ।
असोज २२ गते बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ । मतदान कार्यक्रम राष्ट्रिय सभागृह, खुल्लामञ्च र प्रज्ञा भवनमा हुनेछ । मतदान सकिएलगत्तै मतगणना गरिने निर्वाचन समितिले जनाएको छ ।


















