काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय मुद्दामा राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गरिरहेको प्रयासको प्रशंसा गरेका छन् ।
सरकारले राजनीतिक दल, संसद र नागरिकसँग संवाद नगरेको भन्दै उनले प्रधानमन्त्री बालेन शाहको भने आलोचना गरेका छन् ।
नेपाली कांग्रेसको १५ औं राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पोखरेलले मुलुक अहिले प्राकृतिक विपत्ति, लोकतन्त्र, राष्ट्रियता, सुशासन र नयाँ पुस्ताका अपेक्षासहित विभिन्न चुनौतीको बाटोबाट अघि बढिरहेको बताए ।
‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एकठाउँ ल्याउन राष्ट्रिय मुद्दाहरूमा निरन्तर प्रयत्न गर्नुहुन्छ,’ उनले भने, ‘तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गरेर जाने कुरामा संकल्प गर्न सक्दैन ।’


















