काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति गगन थापालाई देशको नेतृत्व गर्ने आँट गरेर अघि बढ्न आग्रह गरेका छन् ।


नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सम्बोधन गर्दै प्रचण्डले सभापति थापालाई साथ दिन आफूहरू तयार रहेको बताएका हुन् ।   


प्रचण्डले पछिल्लो समय नयाँ पुस्ताका नाममा वृद्ध र बुढापाकालाई अपमान गर्ने प्रवृत्ति देखिएको भन्दै त्यसलाई लोकतन्त्रवादी र शान्तिका पक्षधरहरूले अनुशरण गर्न नहुने पनि बताए ।


समाज वृद्ध, प्रौढ र युवाहरू मिलेर चल्ने भएकाले पुस्ताबीच सहकार्य आवश्यक रहेको उनले औँल्याए । प्रचण्डले देश, लोकतन्त्र र संविधान अप्ठ्यारो अवस्थामा रहेको पनि बताए । सरकारका केही अभिव्यक्ति, क्रियाकलाप र गतिविधिले देश स्वेच्छाचारिता र अराजकतातर्फ जाने खतरा देखिएको उनको भनाइ थियो ।


अहिलेको अवस्थामा संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्न सबै राजनीतिक दल मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने जिम्मेवारी लिन गगन थापालाई उनले आग्रह गरे ।