इटहरी । असोज १९ गतेदेखि विश्व लगानीकर्ता सप्ताह हुँदैछ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा असोज १९ देखि २५ गतेसम्म देशका विभिन्न स्थानमा लगानीकर्ता शिक्षा तथा सचेतना केन्द्रित कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

१९ गते प्रभातफेरी, सचेतना र पोडकास्ट
धितोपत्र बोर्डले सार्वजनिक गरेको कार्यक्रम तालिकाअनुसार असोज १९ गते विराटनगर, पोखरा र सुर्खेतमा प्रभातफेरी कार्यक्रम आयोजना हुने भएको छ । सो कार्यक्रमको जिम्मेवारी नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर एसोसिएसन अफ नेपाललाई दिइएको छ । प्रभातफेरी साधारण लगानीकर्ता लक्षित हुने बोर्डले जनाएको छ ।

सोही दिन विराटनगर र पोखरामा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी छ । कार्यक्रममा साधारण लगानीकर्ता, व्यवसायी तथा बैंकका कर्मचारीलाई लक्षित गरिएको छ । असोज १९ मै पोडकास्ट र ‘कि म्यासेज’ पत्रपत्रिकामार्फत् प्रकाशन गर्ने कार्यक्रमसमेत राखिएको छ । पोडकास्टमा धितोपत्र बोर्ड र मर्चेन्ट बैंकर्स एसेसिएसनको सहभागिता हुने जनाइएको छ ।

असोज २० गते विद्यार्थी र लगानीकर्तामाथि केन्द्रित कार्यक्रम
असोज २० गते विराटनगर र सुर्खेतमा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गरिने भएको छ । यी कार्यक्रम साधारण लगानीकर्ता तथा विद्यार्थी लक्षित हुनेछन् ।
पोखरामा विद्यार्थी लक्षित प्यानल डिस्कसन आयोजना गरिने भएको छ ।

देशव्यापी रूपमा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम पनि सञ्चालन गरिने र ती कार्यक्रममा साधारण लगानीकर्ता र विद्यार्थी सहभागी हुने जनाइएको छ ।

असोज २१ गते अन्तरक्याम्पस प्रस्तुतीकरणदेखि बजारका संस्थाको भ्रमण
असोज २१ गते पोखरामा ‘अन्तर–क्याम्पस प्रस्तुतीकरण प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिताको विषय ‘इन्भेस्ट इन योर फ्युचर, प्रोटेक्ट इट टुडे’ तय गरिएको छ ।

काठमाडौंमा विद्यार्थीलाई लक्षित गरी नेपाल स्टक एक्सचेन्ज सीडीएससी स्टक डिलर, स्टक ब्रोकर तथा मर्चेन्ट बैंकरका कार्यालय भ्रमण गराउने कार्यक्रमसमेत राखिएको छ । सो कार्यक्रममार्फत विद्यार्थीलाई नेपालको धितोपत्र बजारको कारोबार प्रणाली, बजारका विभिन्न संस्था तथा तिनको भूमिकाबारे प्रत्यक्ष जानकारी गराउने बताइएको छ ।

असोज २२ गते भैरहवामा इन्फोमरिक रेटिङको आयोजनामा साधारण लगानीकर्ता, व्यवसायी तथा बैंकका कर्मचारीलाई लक्षित गरी लगानीकर्ता प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ ।

वीरगञ्जमा विद्यार्थीबीच अन्तर–क्याम्पस वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको विषय वित्तीय साक्षरता र लगानी निर्णय राखिएको छ ।

सोही दिन सिडीएससी, एमबान र एसबानको आयोजनामा लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन हुनेछ भएको छ । पोडकास्टसमेत प्रशारण गर्ने तयारी रहेको जनाइएको छ ।

वीरगञ्जमा नाटक र प्यानल छलफल
असोज २३ गते वीरगञ्जमा साधारण लगानीकर्ता तथा विद्यार्थीलाई लक्षित गरी नाटक प्रतियोगिता तथा प्यानल छलफल आयोजना हुनेछ ।

सोही दिन बुटवलमा विद्यार्थी लक्षित अन्तर–क्याम्पस प्रस्तुतीकरण प्रतियोगिता हुने भएको छ ।

रेडियो कार्यक्रम विशेषज्ञसँग छलफल
असोज २४ गते सेबोनले रेडियो कार्यक्रम मार्फत देशव्यापी रूपमा ‘विज्ञहरूसँगको छलफल’ रेडियो कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ । सोही दिन साधारण लगानीकर्ता तथा विद्यार्थीलाई लक्षित गरी लगानीकर्ता प्रशिक्षण तथा सचेतना कार्यक्रम सञ्चालन हुने भएको छ ।

असोज २५ गते वेबसाइट सार्वजनिक गर्ने तयारी
विश्व लगानीकर्ता सप्ताहको अन्तिम दिन असोज २५ गते सेबोनले साधारण लगानीकर्तालाई लक्षित गरी लर्निङ म्यानेजमेन्ट सिस्टम वेबसाइट औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरेको छ । लगानीकर्ताले धितोपत्र बजार, लगानी प्रक्रिया, जोखिम तथा लगानीकर्ता सचेतनासम्बन्धी सामग्री अनलाइनमार्फत् प्राप्त गर्न सक्ने व्यवस्था गर्ने बोर्डको तयारी छ ।