धरानः चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको कारोबार बढेको छ । कोशी प्रदेशका पहाडी जिल्ला तथा तराईका विभिन्न स्थानबाट खसीबोका खरिद बिक्रीका लागि व्यापारी तथा किसान यहाँ आउने गरेका छन् ।
बजारमा दैनिक रूपमा उपभोग्य वस्तुका साथै खसीबोकाको किनबेच हुने गरेको छ । बिहीबार र शुक्रबार दुई दिन विशेष रूपमा खसीबोकाको बजार लाग्ने छ ।
धरानबाट खरिद गरेका खसीबोका काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा र पोखरालगायत शहरमा बिक्री हुने गरेका छन् ।
धरान कृषि उपज बजार व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण भट्टराईका अनुसार सातामा तीन हजारभन्दा बढी खसीबोका बिक्री हुने गरेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयमा भने हप्तामा १० हजार बढी खसीबोका बिक्री हुने गरेका छन् ।
गत आर्थिक वर्षमा कृषि उपज बजारबाट एक लाख ६० हजार खसीबोका बिक्री हुँदा करिब तीन अर्ब रुपैयाँको कारोबार भएको अध्यक्ष भट्टराईले बताउनुभयो । गत वर्षको चाडपर्वमा मात्रै ४६ करोड रुपैयाँबराबरको कारोबार भएको थियो ।


















