इटहरी । असोज १४ गते बुधबार नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ को क्षेत्रीय अधिवेशनस्थलमा भएको झडप र तोडफोडको घटनामा पार्टीका शीर्ष नेता डा. शेखर कोइरालाको कुनै पनि किसिमको संलग्नता नरहेको कोइरालाको सचिवालयले स्पष्ट पारेको छ ।
डा. कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै अधिवेशनस्थलको घटनासँग नेता कोइरालाको नाम जोडेर भ्रामक दुष्प्रचार गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
‘कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत मोरङ जिल्ला संघीय क्षेत्र नं–६ को अधिवेशनस्थलमा भएको घटना र उक्त घटनासँग नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको नामसमेत जोडेर गरिएको दुष्प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ । डा. शेखर कोइराला पार्टीको एकता महाधिवेशनका पक्षमा रहनुभएको र महाधिवेशन प्रक्रियाबाट तटस्थ रहनुभएकाले उक्त घटनामा उहाँको कुनै पनि किसिमको संलग्नता नरहेको जानकारी गराउँदछु,’ थपलियाले लेखेका छन् ।
सचिवालयले घटनामा परी घाइते भएका पार्टीका नेता तथा कार्यकर्ताहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ ।
सुन्दरहरैँचा नगरपालिका–४ स्थित सिग्देल बन्धु प्रतिष्ठानको भवनमा आयोजित मोरङ क्षेत्र नं. ६ को क्षेत्रीय अधिवेशनका क्रममा असोज १४ गते कार्यकर्ताबीच झडप, तोडफोड र कुटपिट भएको थियो । सो घटनामा क्षेत्रीय सभापति देवराज तामाङको संलग्नता रहेको अधिवेशनकी प्रमुख अतिथि एवं पार्टीकी सहमहामन्त्री डा. डिला (डिना) संग्रौलाले सञ्चारमाध्यमसँग कुरा गर्दै बताउनुभएको थियो ।
सो आरोपपछि डा. कोइरालाको सचिवालयले औपचारिक रूपमै खण्डन गर्दै घटनामा उनको कुनै भूमिका नरहेको र अनावश्यक रूपमा नाम मुछिएको प्रस्ट्याएको हो । देवराज तामाङ डा. शेखर कोइराला निकट कार्यकर्ता हुन् ।
सो घटनामा महासमिति सदस्य तथा पूर्वसांसद चुमनारायण तबदार, नेता चेतराज रेग्मी र उम्मेदवार सौरभ पोखरेलसहितका नेता कार्यकर्ता घाइते भएका थिए । घाइतेहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
क्षेत्रीय सभापति तामाङले घटनामा आफ्नो संलग्नता नरहेको भन्दै विज्ञप्ति जारी गरेका छन् ।
घटनापछि नेपाली कांग्रेसले क्षेत्रीय अधिवेशन गराउने जिम्मेवारी पाएका तामाङको अधिकार जिल्ला सहसचिव सञ्जयकुमार मण्डललाई दिएको छ ।
आज बुढीगंगास्थित राजवंशी सामुदायिक भवनमा पार्टीको क्षेत्रीय अधिवेशन हुने भएको छ ।


















