विराटचोकः बुधबार मोरङको सुन्दरहरैँचास्थित लायन्स क्लब अफ इन्द्रपुरको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

विराटचोकस्थित नेपालीरिका होटलमा आयोजित समारोहबीच वर्ष २०२५\०२६ की अध्यक्ष प्रमिला दुलालले वर्ष २०२६\०२७ की अध्यक्ष योजना शर्मालाई पद हस्तान्तरण गर्नुभएको हो ।

पद हस्तान्तरण समारोहका प्रमुख अतिथि लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ सीका गभर्नर लायन लीलाप्रसाद चिमरियाले नवनिर्वाचित अध्यक्ष शर्मालाई पद तथा जिम्मेवारीको प्रतिबद्धता गराउनुभएको थियो ।

कार्यक्रममा निवर्तमान अध्यक्ष प्रमिला दुलालले आफ्नो कार्यकालमा क्लबले सम्पन्न गरेका विभिन्न सामाजिक तथा मानवीय सेवाका कार्यक्रमबारे जानकारी गराउनुभयो ।

आफ्नो कार्यकालमा क्लबले रक्तदान, शैक्षिक सामग्री वितरण, सरसफाइ अभियान, लायन्स स्थापना दिवसका अवसरमा दीप प्रज्वलन, विभिन्न सामाजिक तथा सांस्कृतिक कार्यक्रममा फलफूल तथा पानी वितरण, स्वास्थ्य शिविर, सहायता सामग्री वितरण, न्यानो कपडा वितरणलगायतका कार्यक्रम सञ्चालन गरेको जनाउनुभयो ।

यस्तै, ज्येष्ठ नागरिकलाई लक्षित गर्दै चौतारी निर्माणलगायतका सामाजिक कार्यसमेत सफलतापूर्वक सम्पन्न गरिएको उहाँको भनाइ थियो ।

लायन्स क्लब अफ इन्द्रपुरको गरिमालाई थप उचाइमा पुर्याउने गरी विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त नवनिर्वाचित अध्यक्ष शर्माले गर्नुभयो । उहाँले क्लबलाई थप सक्रिय र प्रभावकारी बनाउन सबै पदाधिकारी, सदस्य तथा शुभेच्छुकको सहयोग र सहकार्य आवश्यक रहेको बताउँदै आगामी कार्यकालमा साथ दिन आग्रह गर्नुभयो ।

कार्यक्रममा लायन्स क्लबका अग्रज विभिन्न क्षेत्रका व्यक्ति, सदस्य तथा विभिन्न सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।