विराटचोकः नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय सभापतिमा राजेन्द्र ढकालको उम्मेदवारीले चर्चा पाएको छ । युवा पुस्तामाझ लोकप्रिय छवि बनाएका ढकाल सुन्दरहरैँचा–१२ निवासी हुनुहुन्छ ।
स्वच्छ छविका ढकालले मोरङ–३ मा कांग्रेसको शुद्धीकरण र संगठन सुदृढीकरणका लागि उम्मेद्वारी दिएको बताउनुभएको छ । पार्टीका तल्लो तहका कमिटीमा नेताहरूको हस्तक्षेप बढ्दै जाँदा मोरङ–३ मा गुटबन्दी तीव्र बनेको भन्दै त्यसको अन्त्यका लागि आफूले उम्मेद्वारी दिएको उहाँको भनाइ छ ।
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत सोमबार मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । क्षेत्रीय सभापति पदमा सुन्दरहरैँचाका राजेन्द्र ढकाल र बेलबारीका राजेन्द्र अधिकारीले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।
ढकालले नेताहरूको आशीर्वाद र गुटको प्रभावबाट कमजोर बनेको कांग्रेसलाई सङ्गठन र कार्यकर्ताको भावनाअनुसार अघि बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ ।


















