इटहरी । ६ दिनदेखि बढिरहेको शेयरबजार आज ओरालो झरेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.५१ प्रतिशत अर्थात १३.९५ अङ्कले घटेर २ हजार ७१२.५४ बिन्दुमा ओर्लिएको छ ।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । ३४६ स्टकको १ करोड १३ लाख ६२ हजार ४६५ कित्ता शेयर ५६ हजार ९४ पटक किनबेच हुँदा ५ अर्ब १८ करोड ७४ लाख ६७ हजार ७३ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ६ अर्ब ६७ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।
कारोबारमा आएका १३ वटा समूहमध्ये फाइनान्स र उत्पादन तथा प्रशोधन समूह मात्रै क्रमशः ०.४९ र ०.४५ प्रतिशतले बढेका छन् । व्यापार समूह सर्वाधिक २.६० प्रतिशतले घट्दा निर्जीवन बीमा १.२६ प्रतिशतले घट्न पुग्यो ।
आज रिडी पावर कम्पनीको सर्वाधिक ४२ करोड ३० लाख ८० हजार ३१ रुपैयाँको शेयर किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर, रिलायन्स स्पीनिङ मिल्स र आँखुखोला जलविद्युत उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
एभरेष्ट कलर लिमिटेडको शेयरमूल्य सर्वाधिक अर्थात् १५ प्रतिशत बढ्दा उच्च मूल्य घट्ने स्टकमा विभिन्न वित्तीय संस्थाका ऋणपत्र रहेका छन् ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ६१ अर्ब ६९ करोड ३४ लाख २९ हजार ८३० रुपैयाँ कायम भएको छ ।


















