इटहरी । बजेट भाषणपछि आज पहिलो पटक खुलेको शेयर बजारले उल्टो गति लिएको छ । बजेटमा सरकारले पूँजीगत लाभकर वृद्धि गरिने जनाएको थियो ।
शेयर बजारमा तिरेको लाभकर नै अन्तिम हुने भनिएपछि बजार उकालो लाग्ने अनुमान गरिए पनि सो लाभकरको सीमा पनि ४० लाखसम्ममात्र सीमित गरिएपछि र लाभकरको प्रतिशत बढेपछि बजारले नकारात्मक प्रतिक्रिया दिएको अनुमान गरिएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९६ प्रतिशत अर्थात २६.७२ अंकले घटेर २७५५.३७ बिन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३४९ कम्पनीका १ करोड ३३ लाख ८३ हजार ८१६ कित्ता शेयर ६३ हजार ७१९ पटक किनबेच हुँदा ५ अर्ब ६१ करोड ४३ लाख ७४ हजार ९२८ रुपैयाँको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह १.३७ र अन्य समूह ३.३६ प्रतिशतले बढ्नुबाहेक अन्य सबै समूहका सूचक राताम्य भएका छन् । व्यापार समूह सर्वाधिक ६.१४ प्रतिशतले घटेको छ ।
आज आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४३ करोड ४ लाख ५१ हजार ७५१ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रि इन्स्योरेन्स, रिडी पावर र नेशनल हाईड्रोपावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
घटेको बजारमा नेपाल पुनर्बीमा कम्पनी र कालिञ्चोक हाइड्रोको शेयरमूल्य १५ प्रतिशतले बढेको छ । सेन्ट्रल फाइनान्स, एनएलजी इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।
बुङ्गल हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् १३.२० प्रतिशतले घट्दा क्रेष्ट माइक्रो लाइफ, विशाल बजार कम्पनी, नेपाल रिपब्लिक मिडिया कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब १ अर्ब २२ करोड २ लाख ९ हजार २५ रुपैयाँ कायम भएको छ ।


















