काठमाडौंः नेपाली कांग्रेसका प्रमुख सचेतक निस्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको जग्गा मिचिएको भनी दिएको अभिव्यक्ति आत्मघाती भएको बताउनुभएको हो । सोमबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलका तर्फबाट बोल्दै प्रमुख सचेतक राईले यस्तो बताउनुभएको हो ।

राईले भन्नुभयो, ‘आज मेरो शिर निहुरेको महसुस भएको छ । सदनको रोस्ट्रममा उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले छाती चौडा बनाउँदै बोलेको विषयले मेरो मात्र होइन, करिब तीन करोड नेपालीको शिर निहुर्याएको छ । नेपालले पनि भारतको जग्गा मिचेको छ भन्ने भनाइ संसद्मा रेकर्ड भएको छ, त्यो अभिव्यक्ति नजिर बनेर स्थापित भएको छ ।’

प्रधानमन्त्रीको भनाइमा गर्वका साथ सत्ता पक्षका सांसदले ताली बजाएको हुनाले उहाँहरूमा अलिकति पनि आत्मग्लानि नदेखिएको हुनाले सार्वभौम संसद्मा उभिएर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको हाम्रो नोट अफ डिसेन्ट रहेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री फेरि सार्वभौम सत्तासम्पन्न संसद्को रोस्ट्रममा उभिएर नेपालले कहाँकहाँ भारतको जग्गा मिच्यो, एकएक इन्चको हिसाब दिनुपर्ने उहाँले बताउनुभयो ।

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउ गर्दै क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित छ भनेकोमा आपत्ति जनाउँदै उहाँले जमिन मिचेको विषय कसरी क्रस बोर्डर अकुपेसन हुन्छ भनी उहाँले प्रश्न गर्नुभएको थियो ।

प्रधानमन्त्रीले राष्ट्रहितविपरीत अभिव्यक्ति दिइरहँदा सभामुखले रोक्न नसक्नु सभामुखको कमजोरी भएको पनि उहाँले बताउनुभयो ।