इटहरी ।  सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब ८५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात ८५ करोड ५० लाख रुपैयाँ बराबरको ८५ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।

पहिलो चरणमा कम्पनीले २८ लाख ५० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि र ५ लाख ७० हजार कित्ता साधारण शेयर विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ । १ लाख ७१ हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि र २ लाख ८५ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि बाँडफाँट गरिसकेको छ ।

आजदेखि कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि बाँकी रहेको ४६ करोड ७४ लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
सो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा जेठ २१ गते हुनेछ भने ढिलोमा असार १ गते हुनेछ ।

कम्पनीले सञ्चालन गरेको ३८.४६ मेगावाटको माथिल्लो कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ८ अर्ब ६८ करोड ७० लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत २२ करोड ५८ लाख रुपैयाँ रहेको छ । सो जलविद्युत आयोजनाको विद्युत अनुमतिपत्र २५ वर्ष ३ महिना बाँकी रहेको छ। उक्त आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ८.२५ वर्ष रहेको छ भने डिस्काउण्टमा लगानी फिर्ता हुने अवधि १४.६९ वर्ष रहेको छ ।

नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत् सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले जनाएको छ ।