भोजपुर — अनेरास्ववियू भोजपुरको आयोजनामा सम्पन्न ‘अखिल आइकन’ मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता शिक्षाको गुणस्तर सुधारमा प्रेरक बन्न पुगेको छ।
‘भोजपुरको शिक्षाको अवस्थाः चुनौती र सुधारका उपायहरू’ विषयमा आयोजित प्रतियोगितामा जिल्लाका १९ विद्यालयका ५१ विद्यार्थीले सहभागिता जनाए।
प्रतियोगितामा बिद्येश्वर मावि गोगनेकी स्नेहा राई प्रथम, यशोधरा मावि टक्सारकी कोपिला प्रधान द्वितीय, युनिक एण्ड युनाइटेड पब्लिक एकाडेमीका संयोग कार्की र अनपूर्ण वागधान रणदिपा मावीका छात्र आविष्कार घिमरे तृतीय भए। विजेताहरूलाई क्रमशः १५ हजार, १० हजार र ५/५हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरियो।

कार्यक्रममा विद्यार्थीहरूले यस्ता प्रतियोगिताले आत्मविश्वास अभिवृद्धि गर्नुका साथै शिक्षामा चेतना जगाउने बताए।
अनेरास्ववियू भोजपुर जिल्ला कमिटी अध्यक्ष प्रकाश सिंह राईले शिक्षा लाई राजनीतिक नाराको विषय नभई व्यवहारिक परिवर्तनको अभियान बनाउँदै आएको बताए। उनले स्थानीय तह र सबै सरोकारवालाले यस्ता कार्यक्रमलाई सहयोग गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा पार्टी नेता, प्राध्यापक, शिक्षक, पत्रकारलगायतको उल्लेख्य उपस्थिति रहेको थियो


















