विराटचोकः युवालाई आत्मनिर्भर तथा उद्यमशील बनाउने उद्देश्यसहित सुन्दरहरैंचा उद्योग वाणिज्य संघले सुन्दरहरैंचाका युवाका लागि निःशुल्क “युवा उद्यमशीलता विकास तालिम कार्यक्रम” सञ्चालन गर्ने भएको छ ।

हालसम्म कुनै पनि व्यवसाय नगरेका तर व्यावसायिक सोच भएका युवालाई लक्षित गरेर तालिम दिन लागेको संघका अध्यक्ष नारायण कार्कीले बताउनुभयो । सीप सिकेर स्वरोजगार बन्न चाहने युवाका लागि ३० दिनसम्म तालिम दिइने आयोजकले जनाएको छ । आयोजकका अनुसार तालिम सुन्दरहरैंचा उद्योग वाणिज्य संघको सचिवालयमा दैनिक २ घण्टा सञ्चालन हुनेछ ।

सो तालिममा १८ देखि ४० वर्ष उमेर समूहका व्यवसाय गर्न इच्छुक ५० जना युवालाई सहभागी गराइने संघले जारी गरेको सूचनामा उल्लेख छ । तालिम अवधिभर नियमित उपस्थित हुन सक्ने सहभागीलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ ।

तालिममा सहभागी हुन इच्छुक युवाले नागरिकताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइज फोटोसहित संघको कार्यालय विराटचोक मोरङमा निवेदन बुझाउन सक्ने जनाइएको छ । यही जेठ १५ गतेसम्म निवेदन बुझाउने युवालाई सो तालिममा सहभागी गराइने महासचिव हरि कार्की बताउनुहुन्छ ।

संघका अनुसार तालिमका क्रममा सहभागीलाई व्यवसाय सम्बन्धी आधारभूत ज्ञान दिइनेछ । त्यसका साथै बिजनेस प्लान तयारी, बजार व्यवस्थापन, वित्तीय व्यवस्थापन तथा स्वदेश तथा विदेशका व्यावसायिक तथा औद्योगिक क्षेत्रको भ्रमण गराइने तालिम संयोजक कृष्णप्रसाद ओझाले बताउनुभयो ।