काठमाडौं । टिमका कप्तान दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत निकालेको छ । साबिक विजेता लुम्बिनी लायन्ससँग भएको उद्घाटन खेलमा भने सुदूर पश्चिमले नतिजा आफ्नो पक्षमा पारेको थिएन ।

पोखराले दिएको १४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १६ ओभर ५ बलमा ४ विकेट गुमाएर पूरा लक्ष्य पूरा गरेको हो । सुदूरपश्चिमको जीतमा कप्तान दीपेन्द्रले अर्धशतक प्रहार गरे । उनले ३६ बलमा ४ चौका र दुई छक्का प्रहार गरे ।

सुदूरपश्चिमले सुरुवातमै पहिलो विकेट गुमाएको थियो । ओपनर विनोद भण्डारी व्यक्तिगत ४ रनमा आउट भए । त्यसपछि सैफ अली जैब र ब्रान्डन म्याकमुलेनले दोस्रो विकेटका लागि ३४ रनको साझेदारी गरे । सैफ १४ र ब्रान्डन २२ रनमा आउट भए । त्यसपछि सुदूरपश्चिमलाई कप्तान दीपेन्द्रसिंह र इशान पाण्डेले सम्हाले । दीपेन्द्र र इशानले चौथो विकेटका लागि ७४ रनको साझेदारी गरे । पाण्डे ३१ ब्लमा ३७ रन बनाएर आउट भए । शेर्फन रदरफोर्ड ८ रनमा अविजित रहे ।

बलिङमा धनञ्जय लक्षन, महेदी हन र शाकिब अल हसनले एकएक विकेट लिए ।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४५ रन बनाएको थियो । पोखराका लागि अर्जुन घर्तीमगरले सर्वाधिक अविजित ४० रन बनाए । उनले २५ बलमा ४ चौका र एक छक्का प्रहार गरे । उनले अन्तिम ओभरमा १५ रन जोडेका थिए ।

उता, महेदी हसनले ३२ रन बनाए । उनले कप्तान कुशल भुर्तेलसँग दोस्रो विकेटका लागि ३५ रनको साझेदारी गरेका थिए । उनी छैटौं ओभरको पाँचौं बलमा अनिल खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट भए ।

त्यसअघि तेस्रो ओभरको दोस्रो बलमा ओपनर दिनेश खरेल ७ बलमा ४ रन बनाएर आउट भएका थिए । दिनेश हेमन्त धामीको बलमा आउट हुन पुगे ।

पहिलो बलमै डिआरएसबाट जोगिएका कुशल १७ बलमा २१ रन बनाएर आउट भए । उनले दुई चौका प्रहार गरे । कुशल दशौं ओभरको पहिलो बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको बलमा २१ रनमा क्याच आउट भए । शाकिब अल हसन १६ बलमा १४ रनको योगदान दिए । सदिरा समराविक्रमा ८, धनन्जय लक्षन ११ र किरण ठगुन्ना एक रनमा आउट भए । विपिन खत्री ५ रनमा अविजित रहे ।

बलिङमा सुदूरपश्चिमका स्पिनर अनिल खरेलले ३ विकेट लिए । ३ ओभर बलिङ गरेका उनले २३ रन खर्चेर ती विदेशी खेलाडीलाई आउट गरे । महेदी, शाकिब र सदिरा, अनिलको शिकार बने । हेमन्त धामी, स्कट कुइगेइन र कप्तान दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए ।

भोलि एनपीएलका दुई खेल हुनेछन् । पहिलो खेल जनकपुर बोल्ट्स र काठमाण्डु गोर्खाजबीच दिउँसो साढे १२ बजे हुनेछ ।

दोस्रो खेल साँझ ५ बजे विराटनगर किंग्स र कर्णाली याक्सबीच हुने छ ।

अस्ति शुरु भएको प्रतियोगितामा आजसम्ममा ४ खेल सम्पन्न भएका छन् । ८ टिम सहभागी प्रतियोगितामा अब २८ खेल बाँकी छन् ।