काठमाडौं - महिला हिंसा, बालबालिकामाथि हुने दुर्व्यवहार तथा विभिन्न प्रकारका अपराध नियन्त्रणमा नेपाल प्रहरीले खेलेको भूमिकाको सरकारले प्रशंसा गरेको छ। सरकारसँगको समन्वय र सहकार्यमा महिला, बालबालिका तथा सीमान्तकृत समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धि गर्न प्रहरीले गरिरहेका कामलाई थप प्रभावकारी बनाउने विषयमा जोड दिइएको छ।

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादी र नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीबीच बुधबार मन्त्रालयमा भएको भेटवार्तामा अपराध नियन्त्रण, पीडितको संरक्षण र कानुनी न्याय सुनिश्चित गर्ने विषयमा छलफल भएको हो।

भेटवार्तामा जातीय भेदभाव तथा छुवाछुतको अन्त्य, महिला तथा बालबालिकामाथि हुने हिंसा नियन्त्रण र जोखिममा रहेका समुदायलाई न्यायको सहज पहुँच उपलब्ध गराउने विषयलाई प्राथमिकता दिइएको थियो। यस्ता घटनामा प्रभावकारी अनुसन्धान गरी दोषीलाई प्रचलित कानुनअनुसार कारबाही गर्न तथा पीडितलाई न्याय दिलाउने प्रक्रियालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।

महिला तथा बालबालिकामाथि हुने हिंसा, दुर्व्यवहार र शोषण नियन्त्रणका साथै पीडितको सुरक्षा, पुनर्स्थापना र पारिवारिक पुनर्मिलनलाई प्रभावकारी बनाउन नेपाल प्रहरी र सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको विषयमा पनि छलफल भएको थियो। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रलाई थप सक्रिय बनाउँदै पीडितमैत्री सेवा प्रवाह गर्नुपर्नेमा जोड दिइएको छ।

त्यसैगरी, जातीय विभेदका घटनाको प्रभावकारी अनुसन्धान तथा पीडितलाई न्याय दिलाउन प्रहरीमा रहेको दलित सहायता कक्षलाई थप सक्रिय बनाउने, प्रहरी कर्मचारीलाई नियमित तालिम र ब्रिफिङमार्फत कानुनी व्यवस्था तथा पीडितमैत्री व्यवहारबारे सचेत गराउने विषय पनि उठाइएको थियो।

सीमान्तकृत समुदाय, दलित, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकका उजुरीलाई प्राथमिकताका साथ सम्बोधन गर्दै उनीहरूको अधिकार र सुरक्षा सुनिश्चित गर्नुपर्नेमा पनि जोड दिइएको छ। सीमापार बालबालिकाको ओसारपसार तथा बेचबिखनको जोखिम न्यूनीकरण गर्न सीमा क्षेत्रमा निगरानी र जाँच सुदृढ बनाउने तथा स्थानीय तह र सम्बन्धित निकायसँग सहकार्य बढाउने विषयमा समेत छलफल भएको जनाइएको छ।

सरकार र नेपाल प्रहरीबीचको समन्वयलाई थप सुदृढ गर्दै महिला हिंसा, बालबालिकामाथिको दुर्व्यवहार, जातीय विभेद तथा अन्य अपराध नियन्त्रणका प्रयासलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धतासहित भेटवार्ता सम्पन्न भएको हो।

महिला, बालबालिका र समाजका जोखिममा रहेका समुदायको सुरक्षा तथा न्यायमा पहुँच सुनिश्चित गर्ने अभियानमा नेपाल प्रहरीको भूमिका महत्त्वपूर्ण रहने विषयलाई भेटवार्ताले पुनः जोड दिएको छ।