लेटाङः नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्क निर्माण गरेको मोरङको लेटाङ नगरपालिकाले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको छ ।

शान्ति, अहिंसा र सहअस्तित्वको सन्देश दिन तथा सुनसरीसहित तराईका विभिन्न जिल्लामा हालै भएका घटनापछि धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम गरिएको लेटाङ नगरपालिकाले जनाएको छ ।

लेटाङ नगरपालिका १ स्थित अन्तरधार्मिक शान्ति पार्कमा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको नेपालकै पहिलो अन्तरधार्मिक शान्ति पार्कका रूपमा परिचित सो स्थानमा हिन्दू, बौद्ध, इसाई, किराँत र इस्लाम धर्मका गुरुहरू, जनप्रतिनिधि, राजनीतिक दल तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

सहभागीहरूले कुनै पनि धर्मले हिंसा नभई शान्ति, अहिंसा, सहिष्णुता र भाइचाराको शिक्षा दिने भएकाले सामाजिक सद्भाव कायम राख्न सबै एकजुट हुनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले सदियौँदेखि नेपाली समाज आपसी सद्भाव, सहिष्णुता र एकताको भावनासहित अघि बढ्दै आएको उल्लेख गर्दै संवेदनशील अवस्थामा अपुष्ट तथा भ्रामक समाचारको पछि नलाग्न नगरबासीलाई आग्रह गर्नुभयो । लेटाङ नगरपालिकाले दुई दशकभन्दा बढी समयदेखि शान्ति र सामाजिक सद्भावका क्षेत्रमा निरन्तर काम गरिरहेको उहाँको भनाइ थियो ।

विभिन्न धर्मका गुरुहरूले धर्मका नाममा द्वन्द्व होइन, आपसी सम्मान, सहअस्तित्व र मानवताको भावना बलियो बनाउनुपर्नेमा जोड दिनुभएको थियो । सबै धर्मको साझा सन्देश शान्ति, प्रेम र भाइचारा रहेको उहाँहरूको भनाइ थियो ।

लेटाङ नगरपालिकाको आयोजना तथा सामुदायिक विकास मञ्च नेपाल र अन्तरधार्मिक शान्ति सञ्जालको सहकार्यमा सम्पन्न कार्यक्रममा अन्तरधार्मिक शान्ति पार्क परिसरमा ब्यानर र प्लेकार्डसहित शान्ति परिक्रमा र्याली पनि निकालिएको थियो ।

सहभागीहरूले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न सबै पक्षले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिँदै संयुक्त हस्ताक्षर गरिएको थियो ।