विराटचोकः संस्थाले गरेका गतिविधि र संस्थाको आयस्रोतको बारेमा जानकारी दिने उद्देश्यले ‘सहयोगी मनहरू’ सुन्दरहरैंचाले दोस्रो भेला, भेटघाट, अन्तरक्रिया तथा चियापान कार्यक्रम गरेको छ ।
सामाजिक सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यले शनिबार सुन्दरहरैंचा उद्योग वाणिज्य संघको भवनमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भीम अधिकारीले आर्थिक अभावका कारण शिक्षाबाट वञ्चित बालबालिकालाई शिक्षासँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताउनुभयो ।
‘सुसंस्कृत समाज, सभ्य जन, आजको आवश्यकता सहयोगी मन’ भन्ने मूल नाराका साथ संस्था दर्ता गरी सामाजिक सेवाका विभिन्न क्षेत्रमा सक्रिय हुँदै आएको संस्थाले आर्थिक रूपमा विपन्न तथा असहाय परिवारका लागि सामान्य सहयोगदेखि घर निर्माणसम्म गरेको अधिकारीले बताउनुभयो ।
संस्था कुनै विदेशी संस्थाको सहयोगमा सञ्चालन भएको भन्ने भ्रमसमेत फैलाइएको भन्दै अध्यक्ष अधिकारीले त्यसको खण्डन गर्नुभयो । समाजमा रहेका सहयोगी मन भएका व्यक्तिहरूबाट रकम सङ्कलन गरी सामाजिक सेवाका कार्य गर्दै आएको उहाँले बताउनुभयो ।
कार्यक्रमलाई सिड नेपालका निर्देशक अर्जुन गुरागाईँ, सामाजिक मिलन केन्द्र प्रतिष्ठान सुन्दरहरैंचाका सल्लाहकार सुरज बिष्ट, सदस्य दाताराम भट्टराईलगायतले सम्बोधन गर्नुभएको थियो ।


















