इटहरीः आज सुनसरीको इटहरीमा सामाजिक, धार्मिक तथा सामुदायिक संघसंस्थाको सहभागितामा सद्भाव र्याली निकालिएको छ ।
विभिन्न जातजाति, धर्म, भाषा र समुदायका प्रतिनिधि, सामाजिक अभियन्ता, युवा तथा सर्वसाधारणको उल्लेखनीय उपस्थितिले इटहरीमा सामाजिक सद्भावप्रतिको साझा प्रतिबद्धता झल्काएको आयोजकले जनाएको छ । सहभागीहरूले सामाजिक एकता, धार्मिक सहिष्णुता, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्वका पक्षमा सन्देशमूलक नारासहित नगरका विभिन्न क्षेत्रको परिक्रमा गरेका थिए ।
पछिल्ला दिनमा समाजमा विभिन्न गतिविधि भएका भन्दै त्यस्ता प्रवृत्तिलाई निरुत्साहित गर्दै सबै समुदायबीच विश्वास, सम्मान र सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले र्याली आयोजना गरिएको जनाइएको छ ।


















