इटहरी ।  नेपालमा आज दोस्रो पटक कोदो दिवस मनाइएको छ । विगत ८ वर्षदेखि अनौपचारिक रूपमा विभिन्न कार्यक्रमका साथ कोदो दिवस मनाइँदै आइएको थियो । गत वर्षदेखि भने औपचारिक रूपमा दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्र सङ्घले सन् २०२३ लाई ‘अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष’ कै रूपमा मनाएको थियो । नेपाल सरकारले औपचारिक घोषणा नगरे पनि नेपालमा विगत ७ वर्षदेखि नै स्वतःस्फूर्त रूपमा साउन १५ मा कोदो दिवसका रूपमा मनाउने गरिएको थियो । गत वर्षदेखि सरकारले साउन १६ मा कोदो दिवस मनाउने घोषणा गरेको हो ।

२०८२ असार २३ गते बसेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्षको साउन १६ गते कोदो दिवस मनाउने निर्णय गरेको थियो । सोही वर्षको साउन ४ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिवको अध्यक्षतामा बसेको बैठकले प्रथम राष्ट्रिय कोदो दिवसका लागि नारा तय गरेको थियो ।

बहुगुणी कोदोको प्रवद्र्धनमा जोड दिएर आजका दिन विभिन्न कार्यक्रम आयोजना गरिन्छ । कोदो रोप्ने मुख्य सिजन साउन भएकाले आजको दिनलाई कोदो दिवसका रूपमा मनाउने निर्णय भएको हो ।

नेपालमा धान, मकै र गहुँपछि कोदो चौथो मुख्य बालीका रूपमा रहेको छ । विगतमा कुअन्न भनिएको र गरिबको खान्कीका रूपमा लिने गरिएको कोदो पहिलेदेखि नै हेलामा परेको बाली हो । नेपालका सबैजसो जिल्लामा कोदो खेती हुन्छ ।

कोदो लामो समयसम्म भण्डारण गर्न सकिने अनाज हो । कोदो भकारी वा अन्य भाडामा १२–१५ वर्षसम्म राख्दा पनि सड्ने–गल्ने केही हुँदैन । विश्वको कुल उत्पादनको एक प्रतिशत कोदो नेपालले उत्पादन गर्छ । कोदो उत्पादनमा नेपाल विश्वको १५ औं स्थानमा पर्छ ।

कोदो दिवसको अवसरमा आज देशका विभिन्न पालिका तथा संघसंस्थाले विविध कार्यक्रम आयोजना गरी दिवस मनाएका छन् ।