काठमाडौंः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ का प्रावधान उल्लङ्घन गरेको भन्दै तीन वटा ब्रोकर कम्पनी र एउटा मर्चेन्ट बैंकरलाई कारबाही गरेको छ ।

बोर्डले ती कम्पनीलाई कारबाही गरेर १ करोड १० लाख रुपैयाँ जरिवाना तिराएको छ । बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ क को उपदफा (४) को खण्ड (घ) तथा दफा ७ ग मा रहेको व्यवस्था उल्लङ्घन गरेको पाइएपछि कारबाही गरिएको हो ।

बोर्डले सिप्ला सेक्युरिटिज प्रालिलाई ५० लाख रुपैयाँ जरिवाना तिराएको छ । श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज प्रालिलाई जनही ३० लाख रुपैयाँका दरले जरिवाना गराएको छ ।

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानूनी दायित्व पूरा नगरेको निष्कर्षका आधारमा ऐनको दफा ७ फ को उपदफा (१) को खण्ड (ख) बमोजिम जरिवाना गरिएको बोर्डले जनाएको छ ।

बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०÷८१ को बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी शेयर जम्मा भएको पाइएपछि कारबाही गरेको बोर्डले जनाएको छ ।