काठमाडौंः प्रधानमन्त्री बालेन शाहले सुनसरी, सिरहा लगायत देशका पूर्वी जिल्लाहरूमा उत्पन्न तनावबारे राष्ट्रका नाममा आज साँझ सम्बोधन गर्नुभएको छ ।

प्रधानमन्त्री शाहले परिस्थिति सामान्य बनाउन र थप अप्रिय घटना हुन नदिने प्रयास भइरहेको बताउनुभएको छ । दोषीलाई कडा कारबाही गर्न छानबिन समिति गठन गरिएको र यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास प्रधानमन्त्रीले दिलाउनुभएको छ । घटनामा संलग्न जो कोही भए पनि कारबाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभएको छ ।

घटनामा भएका घाइतेहरूको उपचारमा कुनै प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइएको पनि उहाँले बताउनुभएको छ ।

यस्तो छ सम्बोधनको पूर्ण पाठः

नमस्कार, आदरणीय बुबा, आमा, दिदीबहिनी तथा दाजुभाइहरू ।

म आज एक अत्यन्त संवेदनशील घडीमा तपाईंहरूसामु उपस्थित भएको छु ।

केही दिनअघि सुनसरीको देवानगन्ज, सिरहा लगायतका स्थानमा भएको दुःखद घटना र त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ ।

यस दुःखद घटनामा परी निधन हुनुभएका हाम्रा नागरिकहरू जयप्रकाश मेहता, ओमप्रकाश मेहता र गणेश यादवप्रति म भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु । साथै, शोकसन्तप्त परिवारजनहरूमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्दछु ।

घटनामा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको कमी वा ढिलाइ हुन नदिन सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ ।

घटना भएलगत्तै सबै सुरक्षा निकायहरूले तत्काल घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउन, थप अप्रिय घटना हुन नदिन र शान्ति सुरक्षा कायम गर्ने प्रयास निरन्तर गरिरहेका छन् ।

घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ । म सबैमा विश्वास दिलाउन चाहन्छु, यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुनेछ । घटनामा संलग्न दोषी जोसुकै भए पनि कानुनी दायरामा ल्याउन सरकार प्रतिबद्ध छ ।

अवस्था थप नबिग्रियोस्, कुनै पनि नागरिकको जनधनको क्षति हुन नपाओस् र स्थानीय स्तरमा विश्वासको वातावरण बनोस् भन्नका लागि नेपाल सरकार निरन्तर क्रियाशील छ । परिस्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ । स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरूहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ ।

स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं सो स्थानमा पुगिसक्नुभएको छ ।

साथै, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषदको बैठक बसी परिस्थिति अनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको छ ।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न÷नगराउन अनुरोध गर्दछु । साथै, सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचनामा मात्र विश्वास गर्न विशेष आग्रह गर्दछु ।

प्रत्येक नागरिकको जीउधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व हो । आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहनेछ । प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिनेछन् ।

शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा हाम्रो सदियौं पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खल्बल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत छ र यस्ता गतिविधिमाथि कडा कदम चालिने छन् ।

नेपालको संविधानले प्रत्येक नागरिकलाई आफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको छ । यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध छ ।

धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति हो । संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन सिकाउँदैन । सबै धर्मको मूल सार करूणा, दया, प्रेम र शान्ति नै हो । देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुःखद घटनालाई लिएर कुनै सिँगो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित वा न्यायसङ्गत हुन सक्दैन ।

आदरणीय बुबा, आमा, दिदीबहिनी तथा दाजुभाइहरू,

हाम्रो इतिहास साक्षी छ, कठिनभन्दा कठिन र अप्ठ्यारो परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै हाम्रा सबैभन्दा ठूला शक्ति बनेका छन् । हामी सबैले जिम्मेवार नागरिकको भूमिका निर्वाह गर्दै यो सुन्दर र शान्त नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउनुपर्नेछ ।

हम आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, सब आदरणीय अगुवा, सब राजनीतिक दल आ जिम्मेवार सञ्चारके माध्यम; सबके धैर्यता, संयमता अपनाके शान्ति, सद्भाव, भाइचारा, राष्ट्रिय एकता कायम राख लेल सरकारके तरफसे हार्दिक अपिल कररहल्छ, धन्यवाद ।