इनरुवाः सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा १० साउनमा भएको गोलीकाण्डका सम्बन्धमा सरकार र पीडित परिवारबीच ६ बुँदे सहमति भएको छ ।
सहमतिअनुसार नेपाल सरकारले मृतक दुवैलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउनेछ । साथै, मृतकका परिवारलाई जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ । प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर पनि प्रदान गरिने भएको छ ।
आज बिहान गृहमन्त्री सुधन गुरुङ र दुवै पीडित परिवारबीच लिखित सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापछि अस्पतालमा रहेका मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव परिवारले बुझ्ने भएका छन् ।
सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ तथा पीडित पक्षका तर्फबाट मृतक ओमप्रकाश मेहताका अभिभावक कुशदेव मेहता र जयप्रकाश मेहताका अभिभावक नरेश मेहताले हस्ताक्षर गर्नुभएको छ ।
बिहीबार रातभर भएको छलफलपछि शुक्रबार बिहान ५ बजे सहमति भएको हो । सम्झौतासँगै पीडित परिवारले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेका छन् ।
मृतकद्वयको अन्त्येष्टि आज दिउँसो २ बजे गरिने भएको छ ।
यस्ता छन् सहमतिका मुख्य बुँदा
१. मृतकद्वयलाई नेपाल सरकारबाट शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने,
मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट जनही १० लाख रुपैयाँ राहत उपलब्ध गराइने ।
२. २०८३ साल साउन १० गते राति देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीउपर प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाइने ।
३. देवानगञ्ज गाउँपालिका–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा आवश्यक छानबिन तत्काल शुरु गरिने ।
४. प्रत्येक मृतकका परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराइने ।
५. घटनाको अध्ययनका लागि गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव र सिफारिशलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाइने ।
६. मृतकद्वयको सम्झनामा गाउँपालिकाको उपयुक्त स्थानमा स्थानीय सरकारसँग समन्वय गरी स्मृति पार्क निर्माण गरिने ।


















