इटहरी । मदन पुरस्कार गुठीले वि.सं २०८२ सालको मदन पुरस्कारका निम्ति छनोट भएका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै यस वर्षका उत्कृष्ट १० कृतिको नाम सार्वजनिक गर्नुभएको हो ।

सार्वजनिक गरिएका कृतिमा सीमा आभासको कृति (महायुग), केशवराज ज्ञवालीको (अज्ञात), केशव दाहालको (इथा), ललित विष्टको (उत्कर्ष), रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको (नेवार समुदायका परम्परागत मुकुन्डोनाच), उमा सुवेदीको (परिधि), श्रवण मुकारुङको (सलह), डा. नवराज केसीको (स्वस्पर्श) र नदीशको (हिउँद) रहेका छन् ।

मदन पुरस्कारका लागि २९८ पुस्तक गुठीलाई प्राप्त भएको बताइएको छ । वि.सं.२०७२ सालदेखि गुठीले प्राप्त पुस्तकमध्येबाट बढीमा १० कृति छनोट गरी सूची सार्वजनिक गर्दै आएको छ । यी पुस्तकमध्ये एकलाई श्रेष्ठ कृतिका रूपमा छनोट गरी मदन पुरस्कार प्रदान गरिने गुठीले जनाएको छ ।

वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले पहिलो पटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको हाम्रो लोक संस्कृति, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको अधिक विभव स्थिर विद्युत् उत्पादक लाई पुरस्कार प्रदान गरेको थियो ।

वि.सं. २०७५ सालदेखि यो पुरस्कारको राशी चार लाख रुपैयाँ बनाइएको छ ।