काठमाडौंः काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत समूह ए को आफ्नो तेस्रो तथा अन्तिम खेलमा नेपालले आज माल्दिभ्ससँग त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा साँझ ५ बजे खेल्ने भएको छ ।

नेपालले यसअघि दुई खेल खेल्दा एकमा जीत र एकमा हारको नतिजा निकाल्दै ४ अंकसहित समूहको दोस्रो स्थानमा छ । यसअघिका दुवै खेलमा पराजित माल्दिभ्स समूह चरणबाट बाहिरिइसकेको छ ।

नेपाल प्रतिद्वन्द्वी भारतसँग पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित भएको थियो । तर दोस्रो खेलमा कीर्गिस्तानलाई सोझो सेटमा हराएरपछि नेपालको सेमीफाइनल पुग्ने सम्भावना बलियो बनेको हो । यो समूहमा भारत ५ अंकसहित शीर्ष स्थानमा छ । कीर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ । माल्दिभ्सलाई सोझो सेटमा पराजित गरेमा नेपालको ७ अंक हुनेछ र सीधै सेमीफाइनलमा पुग्नेछ ।

निरुता ठगुन्नाको नेतृत्वमा रहेको नेपाली टोलीमा यस पटक युवा खेलाडीको बाहुल्यता छ । टोलीमा ६ नयाँ खेलाडी समावेश भएकोमा ५ खेलाडीले राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् ।

आज दिउँसो १२ बजे समूह बी मा रहेको इरान र श्रीलंकाबीच खेल हुनेछ । साढे २ बजे काजखस्तान र बंगलादेशबीच खेल हुनेछ ।

काभा महिला च्याम्पियनसिपका सबै खेलहरु हिमालय स्पोट्र्स टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछन् ।