इटहरी । सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा कोसी प्रदेशबाट दलिततर्फ नेकपा एमालेका सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालयमा सम्पन्न मतगणनाअनुसार पोर्तेलले ७ हजार ४ सय २३ मतभार प्राप्त गर्दै विजय हासिल गरे। उनलाई प्रदेश सभाका ६८ जना र स्थानीय तहका २०१ जनाले मतदान गरेका थिए।

उनका प्रतिस्पर्धी खेम सुन्दासले २ हजार ०३७ मतभार प्राप्त गरे, जसमा प्रदेश सभाका १८ जना र स्थानीय तहका ५७ जनाको मत समावेश थियो।

नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टीबीच निर्वाचनमा गठबन्धन भएको थियो। कोसी प्रदेशमा रिक्त रहेका तीन पदमध्ये अन्य समूहबाट नेपाली कांग्रेसका सुनीलबहादुर थापा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

निर्वाचनमा स्थानीय तहका २५८ जना र प्रदेश सभाका ८७ जनाले मतदान गरेका थिए भने एक जनाको मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।