सर्लाही । नेपाली कांग्रेसले भावी प्रधानमन्त्रीका रूपमा अघि सारेका सभापति गगन थापा आइतबार सर्लाही जाने भएका छन् । उनी प्रतिनिधिसभा निर्वाचनका लागि मनोनयन दर्ता गरेको क्षेत्र सर्लाही–४ पुग्न लागेका हुन्।

सभापति थापाले शनिबार नयाँ बानेश्वरमा आयोजित सर्लाही-४ का युवासँगको अन्तरक्रियामा आफू जिल्ला जान लागेको जानकारी दिए । ‘भोलि म सर्लाही जाँदैछु । पटक पटक म गएको छु, क्षेत्र नम्बर ४ मा,’ उनले भने, ‘तर, पोलिटिकल कार्यक्रममा गएको छु । यो पटक म उम्मेदवार बनेर जाँदै छु । मेरो मनमा एकदमै धेरै एक्साइटमेन्ट (उत्साह) छ ।’

सर्लाही–४ का युवामाथि भरोसा गरेर आफूले जीवनकै सबैभन्दा ठूलो राजनीतिक निर्णय लिएको सभापति थापाले बताए। 'म जीवनको अत्यन्तै ठूलो राजनीतिक निर्णय गरेर सर्लाही-४ आएको छु, तपाईँहरूको भर परेर,’ उनले भने।

अन्तरक्रियाका क्रममा उनले युवालाई निर्वाचनका बेला सर्लाही पुगेर सहयोग गर्न आग्रह गरे। युवाको साथ र विश्वासकै कारण आफू सर्लाही–४ बाट निर्वाचन लड्ने निर्णयमा पुगेको उनको भनाइ थियो।

‘तपाईँहरूले इलेक्सनको बेलामा सक्ने काम गरिदिनका लागि सर्लाही आइदिनपर्छ । तपाईँको घर आइदिनपर्छ । अभिभावकलाई भनिदिनुपर्छ,’ उनले भने, ‘हाम्रो साथी, हाम्रो दाइ, हामीलाई भर गरेर आएको छ, उसलाई यो ठाउँको सांसद बनाएर पठाउनुपर्छ भनेर विश्वासका साथ तपाईँहरूले काम गरिदिनुपर्ने छ । म तपाईँहरूको भरोसा मानेर आएको छु ।’

सभापति थापालाई शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै निर्वाचनमा जाने निर्णय गरेको थियो।