इटहरी । आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रमुख दलका शीर्ष नेता, भावी प्रधानमन्त्रीका दाबेदारदेखि स्वतन्त्र उम्मेदवारसम्मका केहीले आफूलाई नै मतदान गर्न नपाउने भएका छन्। आफ्नो मतदाता नामावली रहेको निर्वाचन क्षेत्रभन्दा बाहिरबाट उम्मेदवारी दिएका कारण उनीहरूलाई यस्तो अवस्था सिर्जना भएको हो।

निर्वाचनसम्बन्धी कानुनअनुसार मतदाता नामावली रहेकै क्षेत्रबाट उम्मेदवारी दिएका व्यक्तिले मात्र मतदान गर्न पाउने व्यवस्था छ। यसका कारण कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछाने, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलगायत नेता आफूलाई भोट हाल्नबाट वञ्चित हुने भएका छन्।

त्यसैगरी नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, कांग्रेस महामन्त्री प्रदीप पौडेल, राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र, एमाले सचिव भानुभक्त ढकाल र कांग्रेस नेता डा. शेखर कोइरालालगायतले पनि आफूलाई मतदान गर्न पाउने छैनन्।

भावी प्रधानमन्त्रीका दाबेदार एमाले अध्यक्ष ओली र रास्वपा सभापति बालेन झापा–५ बाट उम्मेदवार बनेका छन्। तर ओलीको मतदाता नामावली भक्तपुर–२ मा र बालेनको काठमाडौँ–२ मा रहेको छ। कांग्रेस सभापति थापाको मतदाता नामावली काठमाडौँ–४ मा भए पनि उनी सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।

चितवन–३ मा मतदाता नामावली रहेका प्रचण्ड यसपटक रुकुमपूर्वबाट उम्मेदवार बनेका छन्। रास्वपा सभापति रवि लामिछानेको मतदाता नामावली काठमाडौँ–३ मा भए पनि उनी चितवन–२ बाट उम्मेदवार छन्। जसपा अध्यक्ष यादव सप्तरी–३ बाट उम्मेदवार भए पनि उनको नामावली मोरङ–५ मा छ।

यसैगरी गोरखा–२ का मतदाता नारायणकाजी श्रेष्ठ सर्लाही–३ बाट, तनहुँ–२ का मतदाता प्रदीप पौडेल काठमाडौँ–५ बाट उम्मेदवार बनेका छन्। रास्वपा उपसभापति स्वर्णिम वाग्ले गोरखा–१ का मतदाता भए पनि तनहुँ–१ बाट चुनावी मैदानमा छन्। राप्रपा उपाध्यक्ष मिश्र काठमाडौँ–१ बाट उम्मेदवार बनेका छन् भने उनको मतदाता नामावली ललितपुरमा छ।

मोरङ–३ का मतदाता एमाले सचिव भानुभक्त ढकाल तेह्रथुमबाट र मोरङ–४ का मतदाता कांग्रेस नेता डा. शेखर कोइराला मोरङ–६ बाट उम्मेदवार बनेका छन्।

यस्तै कांग्रेस नेता मीनेन्द्र रिजाल, महालक्ष्मी उपाध्याय, एमाले नेता जुली महतो, वासुदेव घिमिरे, प्रमोद यादव, नेकपाका देवेन्द्र पौडेल, प्रेम आले, यसोदा सुवेदी, कांग्रेसका विनोद चौधरी, शंकर भण्डारी, अम्मरसिंह पुनलगायतले पनि फरक क्षेत्रबाट उम्मेदवारी दिएका कारण आफूलाई मतदान गर्न पाउने छैनन्।

रास्वपाका पुकार बम, निशा डाँगी, सोम शर्मा, खगेन्द्र सुनार, नेमकिपाका धनराम जैसी, स्वतन्त्र उम्मेदवार महावीर पुन, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती, उज्यालो पार्टीका रविन्द्र मल्ल, जनमत पार्टीका शशीकुमार यादव तथा आम जनता पार्टीका ऋषि धमलासमेत यस निर्वाचनमा आफूलाई मतदान गर्न नपाउने उम्मेदवारको सूचीमा छन्।