इटहरी । विशेष महाधिवेशनबाट निर्वाचित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक पहिलोपटक आज (शुक्रबार) पार्टी कार्यालय (ललितपुर, सानेपा) मा बस्दै छ। गत पुस ३० गते गगन थापाको नेतृत्वमा निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य आज पहिलोपटक आफ्नो पार्टी कार्यालय 'बीपी स्मृति भवन'मा प्रवेश गर्ने भएका हुन्। 

वैधानिकता विवादका कारण यसअघि पार्टी कार्यालय निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नै ओगटिरहेको थियो। थापा सभापति भइसकेपछि तथा माघ २ गते निर्वाचन आयोगले आधिकारिकता दिइसकेपछि पनि देउवा पक्षले माघ ३ गतेसम्म केन्द्रीय कार्यसमितिको बैठक त्यहीँ राखेको थियो।

त्यही दिन उसले नवनिर्वाचित कांग्रेसलाई निर्वाचन आयोगले दिएको वैधानिकताविरुद्ध सर्वोच्च अदालतमा मुद्दा हाल्ने निर्णय गरेको थियो।तर देउवा पक्षले माघ ४ गते दायर गरेको रिट निवेदनमा सर्वोच्चले माघ ६ गते अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। विवादकै कारण सभापति गगन थापा पक्षले केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालयमा नराखी बाहिर राख्नुपरेको थियो।

विशेष महाधिवेशनबाट चुनिएको भोलिपल्ट उसले पहिलो बैठक माघ १ गते कुपण्डोलको म्यासेम र दोस्रो बैठक माघ ३ गते नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा राखेको थियो।आज भने गगन नेतृत्वको कांग्रेसले आफ्नै पार्टी कार्यालयमा बैठक राख्ने भएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ। 

आजको कांग्रेस बैठक नवनिर्वाचित कार्यसमिति कार्यालय प्रवेशमा मात्र सीमित हुने छैन।यसले सभापति गगन थापालाई फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनपछि सम्भावित प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय पनि गर्नेछ। ‘हामी देशभर नयाँ र नवीन कांग्रेसको सन्देशसहित सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्दै छौँ’, शुक्रबार बिहान प्रवक्ता चालिसेले  भने।

उनका अनुसार विशेष महाधिवेशनको म्यान्डेट तथा सुशासन र विकासको मागसहित उठेको जेनजी आन्दोलनको सन्देशलाई समेत सम्बोधन गर्ने गरी कांग्रेस स्पष्ट नेतृत्वसहित निर्वाचनमा जाने तयारीमा छ।‘भोट हालिसकेपछि प्रधानमन्त्री को हुन्छ भन्ने विषयमा मतदातालाई पहिल्यै स्पष्ट जानकारी दिने हाम्रो रणनीति हो’, उनले थपे।