काठमाडौं । चुनावी मैदानमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले आफू प्रधानमन्त्री बन्ने भन्दै ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन लाइभ गरेको छ । यस अघि काठमाडौँ महानगरपालिकाको प्रमुख हुँदा ‘balenformayor.com’ डोमेन लाइभ गरेको थियो भने अहिले प्रतिनिधिसभाको निर्वाचनमा भाग लिँदै गर्दा प्रधानमन्त्री बन्नका लागि डोमेन लाइभ गरेको पाइएको हो ।

डोमेन लाइभ गर्नुले प्रधानमन्त्री बन्ने तयारी गरेको बुझिएको छ । तर नेकपा (एमाले)का अध्यक्ष एवं पुर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग झापाबाट प्रतिस्पर्धा गरेका शाहले यस अघि कार्यकारी प्रधानमन्त्री बन्ने जस्ता अभिव्यक्ति दिएका थिए । तर उनी प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका छन् ।

बालेनलाई प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने ‘balen4pm.com’ र ‘balenforpm.com’ डोमेन कसले लाइभ गर्‍यो भन्ने खुल्न आएको छैन । डोमेनमा बालेनको समर्थनमा ब्यानर राखेको पाएको हो । यी दुवै डोमेन २९ डिसेम्बर २०२५ मा दर्ता भएका छन् । यी डोमेन कसले दर्ता गरेको हो भन्ने विवरण गोप्य राखिएको छ ।

वेबसाइटको होम पेजमा बालेनको तस्बिरका साथै ‘म नेपाल हाँसेको हेर्न चाहन्छु 'बालेन’ भन्ने नारा राखिएको छ । स्थानीय तह निर्वाचन २०७९ मा काठमाडौँको मेयर पदमा उम्मेदवारी दिँदा बालेनले डाेमेनबाट नै आफ्नो डिजिटल उपस्थिति जनाएका थिए । सो वेबसाइटमा उनको जीवनी, योग्यता, अनुभव र चुनावी कार्य योजना समावेश गरिएका थिए ।