इटहरी । २०४८ देखि २०७९ सम्मका प्रत्यक्ष निर्वाचन डडेल्धुराबाट लडेर जितेका नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको संसदीय यात्रामा दुःखान्त विश्राम भएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निश्चित भएको छ ।
समाचारहरुमा विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति आएपछि देउवाले २१ फागुनको निर्वाचन नलड्ने घोषणा गरेको उल्लेख छ । तर स्रोतका अनुसार देउवालाई टिकट दिन थापा इच्छुक नभएपछि देउवाका स्वकीय सचिव भानु देउवाले यसपटक चुनाव नलड्ने जानकारी दिएका हुन् । अब उनको निर्वाचन क्षेत्र डडेलधुरामा कांग्रेसका नैनसिंह महर उम्मेदवार बन्ने भएका छन् । उनका स्वकीय सचिव देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’
२००४ सालमा डडेलधुरामा जन्मिएका देउवा विद्यार्थी राजनीतिबाटै लोकतान्त्रिक आन्दोलनमा होमिएका थिए। २०३६ सालको विद्यार्थी आन्दोलन र २०४६ सालको जनआन्दोलनमा उनको सक्रिय भूमिका रह्यो। देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ मा सम्पन्न प्रतिनिधिसभा र संविधानसभा चुनावमा डडेल्धुराबाट विजयी भए । उनी पहिलो संविधानसभा (२०६४) मा कञ्चनपुर–४ र देस्रो संविधानसभा (२०७०) मा कैलाली– ६ बाट पनि निर्वाचित भएका थिए
२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गृहजिल्ला डडेल्धुराबाट पहिलो पटक निर्वाचित भएका थिए । निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका उनी गृहमन्त्री वने । त्यस यता उनले पछाडि फर्केर हेर्नु परेन । उनी २०५८, २०६१, २०७४ र २०७८ मा गरी पाँच पटक प्रधानमन्त्री भइसकेका छन् । दोस्रो पटक प्रधानमन्त्री रहेका बेला देउवालाई तत्कालीन राजा ज्ञानेन्द्र शाहले १८ असोज २०५९ मा सत्ताच्यूत गरेका थिए । ज्ञानेन्द्रले २०६१ मा आफैंले अक्षम भनेर हटाएका देउवालाई फेरि प्रधानमन्त्री बनाएका थिए ।
उनी ५ औं पटक प्रधानमन्त्री भए । देउवा २३ भदौको जेनजी आन्दोलन अघिसम्म छैटौं पटक प्रधानमन्त्री बन्ने पालो कुरेर बसेका थिए । तर २४ भदौमा आन्दोलनकारीबाट गरिएको साङ्घातिक आक्रमणपछि उनको आगामी राजकीय यात्रा मात्रै अचानक रोकिएन संसदीय यात्रामा समेत ब्रेक लाग्यो । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि पूर्वपरराष्ट्रमन्त्री देउवा पत्नी डा. आरजु राणा देउवाको नाम कैलाली–५ बाट सिफारिसमा परेको थियो । राणा पनि निर्वाचन लड्ने तयारीमा थिइन् । तर राणाले पनि टिकट नपाउने निश्चित भएको छ ।


















