इटहरी । काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका छन् । माघ ४ गतेदेखि लागू हुने गरी राजीनामा दिएको उनले जानकारी दिए ।
पाण्डेले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई राजीनामा बुझाएपछि भने, ‘मैले राजीनामा दिइसकेको छु ।’
पाण्डे काठमाडौँबाट प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनले मेयर बालेन शाह जुन पार्टीमा हुनुहुन्छ, सोही पार्टीबाट चुनाव लड्ने बताएका छन् । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाण्डे काठमाडौँ-४ बाट उम्मेदवार बन्ने तयारीमा रहेको बताइएको छ।
काठमाडौँ क्षेत्र नम्बर-४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापा निरन्तर निर्वाचित हुँदै आएका छन् । मेयर शाहको चाहना पाण्डेलाई गगन थापासँग भिडाउने र आफू पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने रहेको स्रोतको दाबी छ।


















