इटहरी । कारबाहीमा परेका कांग्रेस महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले नेतृत्व चयनको प्रक्रिया अघि बढाएको भन्दै आफूहरू आधिकारिक भएको बताएका छन् । देउवा समूहको केन्द्रीय समितिले गगन थापा र महामन्त्री विश्वप्रकाश शर्मासहितलाई पाँच वर्षका लागि निष्कासन गरेलगत्तै थापाले यस्तो बताएका हुन् ।

थापाले भने, ‘हामीले सभापतिले छोडे हुन्छ भनेका हौँ । असोज २८ गते केन्द्रीय समितिको बैठकमा उहाँले सम्बोधन गरेर कार्यवाहक दिएर गएका थिए। अब अल्मलिनुपर्ने अवस्था छैन। विशेष महाधिवेशनको मनोनयनको काम सकियो, नामावलीहरू सार्वजनिक हुँदैछ। संवादका प्रयास भए पनि सफल भएन।’

कांग्रेसको आधिकारिकता सम्बन्धमा उनले थपे, ‘यहाँ विधिवत् र विधानसम्मत नेतृत्व चयन हुँदैछ। यही नै कांग्रेस हो।’ थापाका अनुसार, विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वबारे आजै निर्वाचन आयोगमा जानकारी दिइनेछ। ‘आज निर्वाचन प्रक्रिया सकिएसँगै आयोगलाई जानकारी गराउँछौँ। पार्टीको चुनाव चिह्न-रुख, चारतारे झन्डा हामीसँगै छ। अर्को कुरा कांग्रेस नै हामी हौँ,’ उनले भने।