इटहरी । विवाद मिलाउन बनेको वार्ता टोलीले तयार पारेको मध्यमार्गी प्रस्ताव समेत सभापति शेरबहादुर देउवाले अस्वीकार गरेपछि नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ । पार्टी संचालनका लागि हाईकमान्ड बनाएर आगामी १५ औं महाधिवेशनसम्मका लागि सभापति देउवालाई ‘सेरोमोनियल’ हैसियतमा राख्ने प्रस्ताव पनि देउवाले अस्वीकार गरेपछि कांग्रेस विभाजनको संघारमा पुगेको हो ।
सोमबार वार्ताका लागि सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा तीन सदस्यीय समिति र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बनाएको चार सदस्यीय समितिबिच आज पटक पटक संवाद भएको थियो । सभापति देउवाले कार्यवाहक सभापति खड्का तथा नेताद्वय रमेश लेखक र बालकृष्ण खाण वार्तामा खटाएका थिए । महामन्त्रीद्धयले वार्ता टोलीमा नेताहरू प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसेलाई खटाएका छन् ।
सभापति शेरबहादुर देउवाले राजीनामा दिएर पार्टीको कार्यकारी भूमिकाबाट पूर्ण रूपमा अलग हुनुपर्छ भन्ने विशेष महाधिवेशन पक्षधरको अडान राखेका थिए । विशेष महाधिवेशन पक्षधर नेताहरुले सभापति देउवाको राजीनामाको विकल्पमा पार्टी संचालनका लागि हाईकमान्डको विकल्प अघि सारेका थिए । तर सभापति देउवाले यो प्रस्ताव अस्वीकार गरीदिएका छन् ।
कार्यवाहक सभापति, महामन्त्रीद्वय, नेता शेखर कोइरालासहितको पार्टी संचालनको हाइकमान्ड बनाउने प्रस्ताव महाधिवेशन पक्षधर नेताहरुको थियो । संस्थापन पक्षबाट वार्तामा सहभागी केन्द्रीय सदस्यहरु बालकृष्ण खाण र रमेश लेखकले यस विषयमा सभापतिकै सहमति हुनुपर्ने भन्दै वार्तास्थलबाट देउवा निवास गएका थिए । तर यसलाई देउवाले यसलाई पनि अस्वीकार गरीदिएका हुन् ।


















