झापा ।  नेकपा (एमाले) झापाका अध्यक्ष प्रेम गिरीले आगामी प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली अझै ठूलो मतान्तरका साथ विजयी हुने दाबी गरेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेतासमेत रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) झापा–५ बाट उम्मेदवार बन्ने चर्चा चलिरहँदा अध्यक्ष गिरीले यस्तो प्रतिक्रिया दिएका हुन्। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि एमालेले झापा–५ बाट ओलीको नाम एकल सिफारिस गरिसकेको छ।

गिरीका अनुसार बालेनले झापा–५ बाट ओलीसँग प्रतिस्पर्धा गरे पनि त्यसले एमाले वा ओलीलाई कुनै असर नपर्ने दाबी गरे। “बालेन झापा–५ मा उम्मेदवार भए पनि एमालेका लागि फरक पर्दैन,” उनले भने, “पपुलिस्ट आधारमा मात्रै बाहिरको भूगोलमा आएर निर्वाचन जित्न सजिलो हुँदैन। हामीले जनताका लागि काम गरेका छौँ। बालेन उम्मेदवार बन्नेमा विश्वास छैन, बने पनि परिणाम फरक हुँदैन।”

उनले कुलमान घिसिङ र बालेनलाई अदृश्य शक्तिले रास्वपासँग जबरजस्ती जोड्ने प्रयास गरेको दाबीसमेत गरे। “अहिले रास्वपाबाट कुलमान घिसिङ बाहिरिसक्नुभएको छ। बालेनलाई पनि रास्वपाले मनदेखि स्वीकार गर्न सकेको छैन,” गिरीले भने, “रास्वपाले बालेनको राजनीति झापाबाटै समाप्त गर्ने रणनीति बनाएको छ। स्थानीय कार्यकर्ताले पनि बालेनलाई सहज रूपमा स्वीकार गर्न सक्दैनन्।”

गिरीले बालेनलाई अदृश्य शक्तिले प्रधानमन्त्रीका रूपमा अघि सारेको दाबी गर्दै त्यसप्रति रास्वपा स्वयं सन्तुष्ट नभएको प्रतिक्रिया दिए। “रास्वपा निर्माण गर्न रवि लामिछाने र अन्य नेता–कार्यकर्ताले ठूलो मेहनत गरेका छन्,” उनले भने, “प्रधानमन्त्री अर्कै व्यक्तिलाई बनाउने कुरा सहज रूपमा स्वीकार गर्न सक्ने अवस्था छैन। परिस्थितिजन्य बाध्यताले मात्र रास्वपाले बालेनलाई प्रधानमन्त्रीको रूपमा अघि सारेको हो।”

पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीलाई कमजोर देखाउन बालेनको नाम प्रयोग गरिएको हुन सक्ने गिरीको भनाइ छ। एमाले आफ्नो संगठनात्मक बलमा निर्वाचन लड्ने बताउँदै उनले झापा–५ मा ओली अत्यधिक मतका साथ विजयी हुने ठोकुवा गरे।

उनका अनुसार विकास निर्माणका कामप्रति क्षेत्रका जनता सन्तुष्ट छन् र बाहिरबाट आउने ‘टुरिस्ट उम्मेदवार’ विरुद्ध ओलीलाई चुनाव जित्न अझ सजिलो हुनेछ।

२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा ओली झापा–५ बाट २८ हजार ५७६ मतान्तरसहित निर्वाचित भएका थिए। त्यस निर्वाचनमा खसेको १ लाख २ हजार १५० मतमध्ये ९८ हजार ६३१ मत सदर भएको थियो। ओलीले ५२ हजार ३१९ मत प्राप्त गरेका थिए भने गठबन्धनतर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत प्राप्त गरेका थिए। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले ११ हजार ७४८ मत पाएका थिए।