इटहरी । नेपाली कांग्रेसभित्र उत्पन्न विवाद समाधानका लागि पार्टीका दुई पक्षबीच लाजिम्पाटमा वार्ता चलिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भने विशेष महाधिवेशन स्थल भृकुटीमण्डप पुगेका छन्। विशेष महाधिवेशनकै कारण देखिएको विवाद मिलाउने उद्देश्यले आज (मंगलबार) बिहान साढे ८ बजेदेखि सभापति शेरबहादुर देउवा पक्ष र विशेष महाधिवेशन पक्षधर प्रतिनिधिहरूबीच लाजिम्पाटमा छलफल भइरहेको छ।

वार्तामा सभापति देउवा पक्षबाट रमेश लेखक र बालकृष्ण खाँण सहभागी छन् भने शेखर कोइराला पक्षबाट सहमहामन्त्री जीवन परियार र नेता मिनेन्द्र रिजाल सहभागी छन्। त्यस्तै, विशेष महाधिवेशन पक्षधरबाट प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।यसअघि विशेष महाधिवेशन सञ्चालन गरिरहेका महामन्त्रीद्वय थापा र शर्माले संस्थापन पक्षसँग वार्ता गर्न चार सदस्यीय समिति गठन गरेका थिए।

कांग्रेस केन्द्रीय कार्यसमितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाखमा गर्ने कार्यसूची बहुमतले पारित गरे पनि त्यसप्रति असहमति जनाउँदै महामन्त्रीद्वय थापा र शर्माको नेतृत्वमा पुस २७ गतेदेखि भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु गरिएको हो।

सोमबार सुरु भएको बन्दसत्रले सभापति देउवालाई हटाएर नयाँ सभापति चयन गर्ने कार्यविधिसमेत पारित गरिसकेको छ।सुरुमा पुस २७ र २८ गतेका लागि तय गरिएको विशेष महाधिवेशन विभिन्न प्रतिवेदनमाथि छलफल जारी रहेकाले आजसम्म लम्बिएको हो।

महामन्त्रीद्वय थापा र शर्माले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफल जारी रहेको र नीतिगत निर्णयपछि निर्वाचन प्रक्रिया समेत अगाडि बढाइने विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यले जानकारी दिएका छन्।उनका अनुसार विशेष महाधिवेशनमा सोमबार साँझसम्म ६३ प्रतिशत महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन् र दर्ता प्रक्रिया आज पनि जारी रहनेछ।