इटहरी । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्र आज बिहान ९ बजेदेखि पुनः सुरु हुँदै छ । सोमबार स्थगित भएको बन्द सत्र फेरि सञ्चालन हुन लागेको हो।
विशेष महाधिवेशन व्यवस्थापन सचिवालयका संयोजक मनोजमणि आचार्यका अनुसार केन्द्रीय समितिले महाधिवेशनको स्वामित्व नलिए नेतृत्व परिवर्तनको प्रक्रिया अघि बढ्नेछ ।
उनका अनुसार नेतृत्व परिवर्तनसम्बन्धी कार्यविधि पहिले नै पारित भइसकेको छ। सोही कार्यविधिअनुसार महाधिवेशन अघि बढ्ने तयारी गरिएको छ । 'सभापति र कार्यवाहक सभापति आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभएन भने विशेष महाधिवेशनको हलले नेतृत्व परिवर्तन गर्ने कार्यविधि पारित गरिसकेको छ,' आचार्यले भने ।
विशेष महाधिवेशन प्रचार समितिका संयोजक सुवास पोखरेलले हलको धारणा नेतृत्व जोगाउने पक्षमा नरहेको बताए। उनले सभापति शेरबहादुर देउवा आए पनि अवस्था सहज नहुने संकेत गरे ।
'भोलिसम्म सभापतिसहित नेताहरू आएर विशेष महाधिवेशनको स्वामित्व लिनुभयो भने परिस्थिति अर्को बन्न सक्छ,' पोखरेलले भने, 'तर, हलको मुड त्यो छैन । महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको औचित्य सकियो भन्ने निर्णयबाट अपमानित महसुस गर्नुभएको छ । उहाँहरू सजिलै मान्नुहुन्छ भन्ने देखिँदैन ।'
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा हुने तय छ । बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य र सातै प्रदेशका सभापतिलाई बोलाइएको छ ।


















